
बुटवल - लुम्बिनी प्रदेशमा राजनीतिक स्वार्थ नमिलेपछि खारेज गरिएको अस्पताल विकास समिति पुन ब्युँतिएको छ। काँग्रेस एमाले बिच अस्पताल विकास समिति भागबन्डामा सहमति भएपछि विकास समिति ब्युँतिएको हो।
सरकारले केही समयअघि अस्पताल विकास समिति खारेज गरेको थियो । दुई प्रादेशिक अस्पताल सहित १४ अस्पतालको विकास समितिमा सत्तारुढ प्रमुख दुई दलले भागबन्डा गरेर टुङ्ग्याएका हुन।
१४ अस्पतालमध्ये काँग्रेस र एमालेले ७–७ अस्पताल विकास समितिको अध्यक्ष आपसमा बाँडेका छन्। स्वास्थ्य मन्त्री खेमबहादुर सारूले अस्पताल विकास समितिमा प्रमुख साझेदार दललाई समेटेर निर्णय गराएका छन्।
मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले विकास समितिका अध्यक्षहरूको टुङ्गो लगाउने काम मन्त्री स्तरबाट हुने बताइन। बुधवार मन्त्री स्तरीय निर्णयबाट १४ अस्पतालका विकास समिति अध्यक्ष नियुक्त गरिएको हो।
लुम्बिनी प्रादेशिकमा अजय मान श्रेष्ठ, को-को बने अध्यक्ष
भागबन्डा गरिएका अस्पताल विकास समितिका नामहरू मन्त्रालयले सार्वजनिक गरिसकेको छन्। तर नाम भने टुंगिएकोछ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा एमालेको सिफारिसमा अजय मान श्रेष्ठ नियुक्त भएका छन् ।
उनी यसअघि पनि विकास समितिको अध्यक्ष थिए। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नेपाली काँग्रेसको सिफारिसमा महेन्द्र लामिछाने नियुक्त भएका छन्।
प्युठान अस्पतालमा काँग्रेसका कृष्णप्रसाद बसेल हुँदा रोल्पा अस्पतालमा काँग्रेसका शेरबहादुर थापा अध्यक्ष बनेका छन्। यस्तै रामपुर अस्पताल पाल्पामा एमालेका युवराज खनाल, पाल्पा अस्पतालमा काँग्रेसका अजय मान कर्माचार्य विकास समिति अध्यक्ष नियुक्त भएका छन् ।
त्यस्तै भीम अस्पताल भैरहवामा काँग्रेसका कुलप्रसाद न्यौपाने अध्यक्ष, भालुवाङ अस्पताल दाङमा एमालेका सूर्यप्रकाश शर्मा, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेका जगदीश चौधरी, गुल्मी अस्पतालमा एमालेका राजेन्द्रप्रसाद पाण्डे, अर्घाखाँची अस्पतालमा एमालेका बलाराम मिश्र, कपिलवस्तु अस्पतालमा एमालेका रन्जिकुमार बर्मा नियुक्त भएका छन् । रुकुम पूर्व अस्पतालमा काँग्रेसका लोकेन्द्र शाह अध्यक्ष भएका छन् ।