Lumbini Rise
विनाकारण बुटवलका सुदीपले बगाए जम्भुकश्मिरमा रगत


बुटवल -  भारत जम्मुकस्मिर घुम्न गएका बेला बुटवलका सुदीप न्यौपानेको आतंककारी हमलामा परि मृत्यू भएको छ । सुदीप आमा रीमा पाण्डे (रीमकला), वहिनि सुष्मा र ज्वाई उज्जवल काफ्ले सहित भ्रमणका लागि पहलगामको बैसारन पुगेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो ठाउँमा मंगलबार आतंककारी समूहले एकाएक गोली प्रहार गर्न थाल्यो । त्यहि पर्यटकीय स्थलमा आमा रीमा, वहिनी सुष्मा र ज्वाई उज्जवल सहित भ्रमण गरिरहेका बुटवलमाथि आतंककारीले गोली प्रहार गरी सुदीपको हत्या गरे । 

‘भतिज, उनको आमा, वहिनी र ज्वाई जम्मु कस्मिर घुम्न गएको बेला आतंककारीहरुले हिन्दु, मुस्लिम के हो भनेर सोध्दा हिन्दु भनेपछि हत्या गरेको खबर सुनिएको छ’ सुदीपका काका बुटवल १४ निवासि तेजुलाल न्यौपानेले भने –‘यो खबरले हामी अत्यन्तै मर्माहत भएका छौं ।’ घुम्न गएको बेला विनाकारण भतिज आतंककारी हमलामा परि मृत्यू हुनुपरेकाले भारत सरकारले क्षतीपूर्ती दिनुपर्ने उनको माग छ । 

उनले भारत सरकारले पर्यटकीय स्थलमा दिनदाहडै आतंककारी हमलामा परि नेपाली नागरिकले ज्यान गुमाउनु परेकाले सुरक्षाको वातावरण बनाउन आग्रह गरे । ‘भतिजको शव सहज रुपमा ल्याउने वातावरण बनाउन र भ्रमणमा रहेका परिवारका सदस्यहरुलाई सकुशल नेपाल ल्याउने वातावरण मिलाउन समेत म नेपाल सरकारको ध्यानआर्कषण गराउँछु’ तेजुलालले भने ।

hajurbuwa-aama-1745427516.JPG
सुदीपका हजुरबुवा र हजुरआमा बुटवल १४ बेलभरिया ।


सुदीपको पुख्र्यौली घर बुटवल १४ बेलभरिया दुर्गा मन्दिर टोल हो । तर, बुवा आमाको डिभोर्स भएकाले सुदीप वहिनी सहित आमासँग बुटवल ११ कालिकानगर बस्दै आएका थिए । ‘नाती, बुहारी र नातीनी ज्वाईँ कास्मिर घुम्न गएका रहेछन्, थाहा पनि थिएन’ हजुरवुवा खेमानन्द न्यौपानेले भने –‘विहान पाठपूजा गर्दै थिए, जहानले नगर्नु भनिन, के भो भन्दा नातीको मृत्यू भयो भनेपछि थाहा भयो ।’ 

विवाह समेत नभएको नातीको मृत्यूको खबरले ८९ बर्षिय हजुरबुवा भावविह्वल छन् । ‘यहि घर जन्मिएको हो, सुदीप’ हजुरवुवाले घर देखाउँदै भने –‘पछि आमासँग कालिकानगरमा बस्न थाल्यो, अब ठूलो हुँदै थियो, यस्तो खबर सुन्नुप¥यो ।’ हजुरबुवा खेमनन्दले सपना जस्तो लागेको सुनाए ।


‘मंसिरमा आएर आमा बिरामी भए खबर गर्नु है भनेर गएको थियो, जम्मुकास्मिरमा आतंककारीले मारेछन’ ८२ बर्षिय हजुरआमा सेवकली न्यौपानेले भनिन । उनले विहानै नातीको मृत्यूको खबरले जागर नचलेको सुनाईन । सुदीपका बुवा कौशलराज न्यौपाने सामुदायिक विद्यालयको शिक्षक हुन् । उनी अहिले काठमाडौंमा शिक्षकहरुको आन्दोलनमा सरिक भएका छन् ।  


मंगलबार आतंककारी समूहको आक्रमणमा सुदीपको मृत्यू भएपनि अन्य तीन जना भने बाँच्न सफल भए । आमा रीमा सामान्य घाईते भएकी छन् । वहिनी सुष्मा र ज्वाईँ उज्जवल सकुशल रहेको काका समेत रहेका बुटवल वडा न. १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले बताए । ‘भ्रमणमा गएको बेला आतंककारीको आक्रमणमा परि सुदीपको मृत्यू भएको म्यासेज छोरी ज्वाईमार्फत आएको उनले सुनाए । ‘घटना दुखत भयो’ वडाअध्यक्ष समेत रहेका दधिरामले भने –‘अब शव ल्याउने तयारीमा जुटेका छौं ।’

491269422_1476452746649924_6675683295122486980_n-1745427656.jpg
सुदीप, आमा र वहिनी ।



सुदीपको मृत्यूले परिवार शोकमा डुबेको छ । ‘पर्यटक भनेर गएकाहरुको सुरक्षा भारत सरकारले गर्नुपर्ने थियो, हामीले सदस्यता गुमायौं’ काकी पदमा न्यौपानेले भनिन । उनले घटनाले आफू स्तब्ध भएको बताउँदै आतंककारी आक्रमणको निन्दा गरिन । उनले भारतसँग रिसवि भएपनि भ्रमणमा गएका पर्यटकहरुलाई अन्धाधुन्ध गोली हानेर हत्या गर्ने कुराले विश्वकै नागरिकलाई असुरक्षित बनाएको बताईन । ‘हामीले त परिवारका सदस्य गुमायौं, अरुले यस्तो भोग्न नपरोस्’ उनले भनिन ।

यस्तै बुटवल १४ बेलभरियाका छिमेकी समेत रहेका टिकाबहादुर कुँवरले घटना सुन्दा पनि साह्रै पिडादायी रहेको बताए । उनले धर्म सोधेर गोली हानेर हत्या गरेको कुराले साह्रै पिडाबोध भएको बताए । ‘भारत सरकारले क्षतीपूर्ती दिनुपर्छ, नेपाल सरकारले पनि आफ्नो नागरिक भ्रमणमा जादा हत्या हुन्छ भने यसबारेमा सोच्नुपर्छ’ उनले भने । कश्मीरस्थित लोकप्रिय पर्यटकीय स्थल पहलगामलाई स्विजरल्याण्डको उपमा दिईन्छ । कस्मिर पुग्ने अधिकांश पर्यटकहरु त्यहाँ घुम्न गएकै हुन्छन । तर, त्यस्तो पर्यटकीय स्थलमा आतंककारी आक्रमणले नेपालका सुदीप सहित कम्तीमा २८ जनाले ज्यान गुमाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई ‘आतंकवादी हमला’ भनेका छन् र त्यसमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने उद्घोष गरेका छन ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली संघकी प्रमुख उर्जुला फोन देर लेयन सहितका विश्वनेताहरूले उक्त घटनाको भत्र्सना गरेका छन् ।


नेपालका प्रधानमन्त्रीद्धारा कडा निन्दा


प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मुकश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन् । प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतंकवादी कार्यहरूको कडा निन्दा गरेका हुन् ।  

ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ।’ उनले थपेका छन्,‘आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा नेपाल सरकार भारतीय पक्षसँग समन्वयमा रहेको छ । यस्तै परराष्ट्रमन्त्री आरजु देउवा राणाले समेत आक्रमणमा परि नेपाली बुटवलका सुदीप न्यौपानेको मृत्यू भएको पुष्टि गर्दै घटनाको निन्दा गरेकी थिईन ।


दशौं हजारको मृत्यू


सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथक्तावादी सशस्त्र विद्रोह सुरु भएयता यो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारण गरी दशौँ हजारको ज्यान गइसकेको छन् । ब्रिटेनबाट भारत स्वतन्त्र भएसँगै सन् १९४७ मा भारत र पाकिस्तान विभाजनका क्रममा यो हिमाली क्षेत्र पनि विभाजित भएको थियो । 

त्यसपछि भारत र पाकिस्तानबीच यो क्षेत्रका लागि दुइवटा युद्ध र अन्य कैयौँ द्वन्द्वका घटना पनि भए । भारतले यो क्षेत्रमा करिब पाँच लाख सैनिकहरू स्थायी रूपमै परिचालन गरेको छ ।  भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको थियो तर, यहाँ बेलाबखत हिंसाका घटना भने भइरहेको छ ।


पछिल्लो पटक सन् २०२४ को जुनमा सर्वसाधारण लक्षित आक्रमण भएको थियो ।  हिन्दू धर्मावलम्बीहरू चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ३३ जना घाइते भएका थिए ।त्यसअघि सन् २०१९ मा भारत प्रशासित कश्मीरमा भएको आत्मघाती आक्रमणमा ४६ जना सैनिक मारिएका थिए । 

त्यसपछि भारतले पाकिस्तानमा विद्रोहीहरू लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो । भारतले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय रहेका पहलगाम सहितका क्षेत्रको प्रवर्धन गरिरहेको छ । गत वर्ष मात्रै कश्मीरमा ३५ लाख पर्यटक पुगेका सरकारी तथ्याङ्कहरूले देखाएको छ । - खस्याैली साप्ताहिकबाट 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update