Lumbini Rise
पाठकहरुको चौतारी :  हिमालय बुक हाउस


बुटवल - नयाँ पुस्ता डिजिटल दुनियाँमा रमाईहेका छन् । पुस्तकका पानामा होईन मोबाईल र ल्यापटपमै आँखा गडिरहन्छ ।  तर, बुटवलमा भने एउटा यस्तो पुस्तकालय छ जहाँ पाठकहरु मोबाईल र ल्यापटपमा होईन पुस्तककै पाना पल्टाइरहेका हुन्छन्, पुस्तकमै आँखा गाडिरहेका । त्यो ठाउँ हो ‘हिमालय बुक हाउस’ । बुटवल मिलनचौकमा छ यो बुक हाउस । 

यहाँ सामान्य रिक्सा चालकदेखि, चिकित्सक, शिक्षक, पत्रकार, इञ्जिनियर, सांसद र मन्त्री पूर्वमन्त्रीसम्म हिमालय बुकमा भेटिन्छन् । बुटवलका पूराना पुस्तकालय करिव करिब बन्दकै अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा २०६४ सालदेखि पुस्तक पसलसँगै पाठक जगाउने काममा लागेका छन् हिमालय बुक हाउसका सञ्चालक माधव गौतम । ‘पुस्तौदेखि पुस्तकसँग जोडिए, यो मेरो रुचीको व्यवसाय हो’ गौतम भन्छन् –‘आर्कषण त घटेको छ, तर पुस्तक पसल पाठकको चौतारी बनेको छ ।’


त्यसो त गौतमका बुवा खेमराज भारतको मेघालयमा ‘हिमालय बुक स्टल’ गरेका थिएँ । यहि नामबाट उनका दाजू अनिलले काठमाडौं डिल्लीबजारमा पुस्तक पसल चलाइरहेका छन् । वुवा र दाजूसँगै बुटवलमा माधवले पुस्तक पसल चलाएका हुन् । माधवले पुस्तक पसल मात्रै चलाएका छैनन्, पाठकको अभावमा सुक्दै गएका पुस्तकालयप्रती आशा पनि जगाईदिएका छन् ।

हिमालय बुक हाउसबाट किताब मात्रै विक्रि हुँदैन । किताबमाथि विमर्श पनि हुन्छ । यति मात्रै होईन्, नियमित आउने पाठकहरुविच पुस्तकको आदानप्रदान गर्ने संस्कार नै बसेको छ । यतिसम्मकी केही यस्ता पाठक छन् जो हिमालय बुक हाउस नपस्दा खाना बिर्सेजस्तो महसुस गर्छन् । यस्तै पाठक मध्येका एक हुन् बुटवलका बरिष्ठ मनोरोग बिशेषज्ञ डा. मनोज ढुंगाना । ढुंगाना दिनभरी बिरामीको उपचार पश्चात साँझपख हिमालय बुक हाउस आउछन् र दिनभरीको तनाव बिर्सन्छन् ।


ढुंगाना यस्ता पाठक हुन् कुनै पनि नयाँ पुस्तक आउनासाथ उनी किनिहाल्छन् । पेशागत रुपमा उनको दैनिक निकै ब्यस्त छ । तर पनि दिनमा कम्तीमा ३ देखि घन्टा पढ्ने उनी बताउँछन् । उनी दिनमा कम्तीमा एक पटक पेशागत तनाव छाडेर यहाँ पस्छन् । डा. ढुंगाना आफूले मात्रै किताब पढ्ने होईन, उनी कुनै बिशेष उत्सव पारेर पुस्तक उपहार दिने र पुस्तकका बारेमा हिमालयमा आएर छलफल पनि गराउँछन् । डा. ढुंगाना मात्रै होईन हिमालय बुक हाउसको नियमित पाठक हुन् राजनीतिज्ञ सरिता श्रीस । ‘यो हाम्रो पुस्तक पसल मात्रै होईन, जमघट हुने र पुस्तकमाथि विमर्श गर्ने थलो पनि हो’ श्रीसले भनिन –‘यसैका कारणले पनि बुटवलमा पठन संस्कृतीमा सहयोग गरेको छ भन्ने लाग्छ । 

पछिल्लो समयमा पढ्ने पुस्ताहरु निकै कम भइरहेको बेला हिमालय बुक हाउसले पढ्न प्रेरित गरेको उनको बुझाई छ  । ‘किताब स्वार्थ नभएको साथी हो, पानाहरु छुँदा पनि छुट्टै आनन्द आउँछ’ डा. ढुंगाना भन्छन् –‘हिमालय बुक हाउसले पढ्ने बानीलाई अझ फराकिलो बनाइदिएको छ ।’ उनका अनुसार अहिले पढ्ने लत बसेको छ ।  ढुंगानाको मात्रै होईन बुटवल ९ तिनकुनेका दिलिप ज्ञवालीको पनि पुस्तकालयले लत बसालेको छ । ‘०६८/०६९ सालदेखि निरन्तर आउन थालेको हुँ, समय खाली हुने वितिकै हिमालयमा आएर बस्छु’ उनले भने । यहाँ आएर बसेकै कारण नयाँ नयाँ पुस्तकहरु अध्ययन गर्ने र छलफलमा भाग लिने गरेको उनले सुनाए ।


एउटा पुस्ताकालय त्यो पनि नीजि क्षेत्रबाट चलेको छ । त्यसले पाठकहरु नजानिदो तरिकाले बढाइरहेको उदाहरण हिमालय बुक हाउस बनेको बताउँछन लेखक मनिकर कार्की । ‘यहाँ म पुस्तकको खोजीका लागि मात्रै आउँदिन, पुस्तकमाथि हुने छलफल, टिका टिप्पणी सुन्न पनि आउँछु, यो पाठकहरुको छलफल चौतारी हो’ उनले भने । उनले शहरको सभ्यता, संस्कृती र सहर हुनुको आधार दिलाउन पनि पुस्तक पसल चाहिने बताउँछन् । पुस्तक जीवन हो, पुस्तक साथी हो’ उनले भने –‘त्यहि पुस्तक किन्ने, पढाउने र पढ्न प्रेरित गर्ने बुटवलको साझा थलो नै हिमालय बुक हाउस हो ।’


देशभरका पुराना पुस्तकालयहरु बन्द हुँदैछन् । तर, नीजि क्षेत्रबाट हिमालयले पुस्तक पसलका माध्यमबाट पाठकको खोजी गराईरहेको छ । कवि भूपेन्द्र खड्का ‘कवि भूपेन’ कृतिका सन्दर्भमा बुटवल आउँदा हिमालय बुक हाउसमै भेटिए । उनले बुटवलमा कवि साहित्यकार र पाठकहरुका लागि छलफल गर्ने गफ गर्ने साझा चौतारी हिमालय बुक हाउस बनेकोमा खुशी व्यक्त गरे । ‘पुस्तक रुचाउने, पढ्नेहरुका लागि यस्तो ठाउँ जरुरी पर्छ’ उनले भने । बुटवल साँस्कृतिक केन्द्रको विम्ब हो भन्ने कुरा हिमालय बुक हाउसमा जम्मा हुने पाठकहरुले गराएको उनले बताए ।

डा-मनाोज-ढुगांना-पुस्तक-हेर्दै-1742745719.JPG

त्यसो त बुटवलमा पूराना पुस्तकालय नभएका होईनन । विस २००४ सालमा स्थापना भएको महाविर पुस्तकालय, २०२३ सालमा स्थापना भएको जागृती पुस्तकालयहरु यहाँ छन् । तर ती पुस्तकालयहरु परम्परागतमै सिमित भए । तर हिमालयले आधुनिक पुस्ताको रुचीका पुस्तक राख्छ । पाकादेखि नयाँ पुस्ता, विभिन्न पेशागत रुपमा छरिएकाहरुको भावना बुझेर पुस्तकहरु राख्ने गरेको छ । लेखकहरुले सिधैं यही नै पुस्तक पठाउँछन् ।

‘हिमालय पुस्तक पसल मात्रै होईन, बटौलीका लागि साहित्यकारहरुको चारधाम हो, मक्कामदिना हो, पशुपतीनाथ हो’ बुटवलका कवि लेखक गिरी श्रीषको टिप्पणी छ । उनले हिमालय बुक हाउसले आफ्नो एकल कविता वाचन राखेर लिटरेचर फेस्टीबल समेत गराएको स्मरण गरे । खास खास मान्छेहरु आउने थलोका रुपमा हिमालय चिनिएको उनले बताए । कवि श्रीसले भनेजस्तै बुटवलबाट पश्चिम लाग्दा होस् या पूर्व लाग्दा हिमालय बुक हाउसको बाटो काट्दैनन लेखक कविहरु । आम्बीका गिरी, विवेक ओझा, कुमार नगरकोटी यहाँ नपसि जाँदैनन ।


मदन पुरस्कार विजेता पनलम कार्की निहारिका, रामलाल जोशी, पदम श्री पुरस्कार पाएक केशव ज्ञवालीले यहाँ पाईला टेकिसकेका छन । बुटवलका साहित्यकारहरु जंगबहादुर शाह, दिल साहनी, ऋषिराम भुसाल, वनमाली निराकार, विजय सागर, रुद्र ज्ञवाली, दलबहादुर गुरुङ, गजलकार बुँद राना, रामचन्द्र श्रेष्ठ, पत्रकार लेखक मदनलाल पौडेल, दुर्गा पौडेल नियमित आइरहन्छन ।

यस्तै मन्त्री भएका बेला भोज प्रसाद श्रेष्ठ, सभामुख तुलाराम घर्ती मगर, पूर्व सांसद नेत्र पन्थी, हिमालय पुस्ताकालय आइरहनेमा पर्छन । यसैगरी चिकित्सकहरु बरिष्ठ मनोरोग बिशेष डा. मनोज ढुंगाना सहित नेत्र राना, राजेन्द्र खनाल बर्षा थापा, इञ्जिनियर कुसुम ज्ञवाली, अर्जुन खनाल, अधिवक्ताहरु तेजप्रसाद कंडेल नियमित पुस्तकालय आउने व्यक्तिहरु हुन् । 

हिमालयमा धार्मिकदेखि राजनीतिक, इतिहास, अनुसन्धानमुलुक कृति, साहित्यिक कृतीहरु, भारतीय साहित्यका पुस्तकहरु पाईन्छ । यतिसम्मकी किताब बिमोचन र विक्रिका लागि लेखकहरुले सम्झिने गरेको सञ्चालक गौतमको भनाई छ । उनी भन्छन–‘पुस्तकालय जताततै बन्द हुँदैछन्, तर म पुस्तकालयसँगै पठन संस्कृतीको विकास गर्दै जादा पाठक थपिन्छन भन्ने विश्वास लिएको छु ।’

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update