
बुटवल - अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघमा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । बुटवल उद्योग वाणिज्य संघमा गठित डेरी बस्तुगत समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम भएकी हुन् । त्यसै गरी स्कलर्श होमकी स्लेसा शर्मा द्वितीय, न्यु होरा जनकी तेजस्वी नेपाल तृतीय तथा ज्ञानोदय माध्यमिक विद्यालयका दीपेश रोकाय र नवरत्न माध्यमिक विद्यालयकी समीक्षा लम्साल सान्त्वना भएको मूल्याङ्कन समिति सदस्य पशुपन्छी निर्देशनालयका नरेन्द्र पौडेलले जानकारी दिए। प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका १७ विद्यालय सहभागी थिए । हरेक वर्ष जुन १ मा अन्तर्राष्ट्रिय दूध दिवस मनाउँदै आइएको छ ।
उनीहरूलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नगद पुरस्कार सहित सम्मान गरे । प्रतियोगितामा प्रथमलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै गरी द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनालाई जनही १ हजार रुपैंया पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले बिस्तारै दूध तथा दुग्धजन्य पदार्थको उपभोग बढ्दै गएको उल्लेख गर्दै चिसो पेय पदार्थको ठाउँमा मोहीको प्रयोग बढी रहेको बताए । उनले यस्ता कार्यक्रमले दूधको खपत बढाउन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख पाण्डेयले दूध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा जोड दिँदै त्यसका लागि दुग्ध उत्पादक किसान, सङ्कलक, सप्लायर्स तथा डेरी व्यवसायीलाई गम्भीर बन्न आग्रह गरे ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले दूध के हो, दूधमा के छ ?, जस्ता कुराहरूको सन्देश प्रवाह गर्न सकियो भने त्यसले दूधको खपत बढाउने र व्यावसायिक विकास पनि हुने बताए । आजका विद्यार्थी भविष्यका कर्णधार भएकाले उनीहरू मार्फत दूधको उपयोगका बारेमा सन्देश दिनको लागि वक्तृत्वकला प्रतियोगिता गरिएको उनले बताए।उनले विद्यार्थीलाई यस्ता कार्यक्रममा सहभागी गराउँदै गर्दा भोलीका दिनमा उनीहरूमा उद्यमशीलताको विकास हुने पनि विश्वास व्यक्त गरे ।
डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्णप्रसाद अर्याल, लुम्बिनी प्रदेश सरकार पशुपन्छी निर्देशनालयका पशु चिकित्सक लोकराज भुसाल, संघका उपाध्यक्ष सुरज भट्टराई लगायतले भनाई राखेका थिए ।