Lumbini Rise
पूर्व गृहमन्त्री खाँणले अर्थमन्त्री पौडेललाई किन गरे प्रशंसा 

बुटवल- आगामी आर्थिक वर्ष ०८२/०८३ बजेटबारे मिश्रित टीकाटिप्पणी आइरहेको छ । तर, अर्थमन्त्री विष्णु प्रसाद पौडेलको गृह नगर बुटवलमा भने नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले प्रशंसा गरेका छन् ।

भुटानी शरणार्थी प्रकरणको मुद्धाका कारण लामो समय मौन प्राय बसेका खाँण अदालतले धरौटीमा रिहा गरेपछि सार्वजनिक कार्यक्रमहरूमा बिस्तारै सक्रियता बढाएका छन् । त्यही सिलसिलामा बुटवल उपमहानगरपालिकाले सीमा जोडिएका पालिकाहरूसँग सहकार्य र संयुक्त अभ्यास सम्बन्धमा शनिवार बुटवलमा गरेको कार्यक्रममा खाँण प्रमुख अतिथि थिए ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेचन्द्र कार्की, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई सहित बुटवल  सहित सीमा जोडिएका पालिकाका जनप्रतिनिधि, राजनीतिक दलहरूका प्रतिनिधिहरूलाई साक्षी राखेर खाँणले अर्थमन्त्रीलाई पटक–पटक धन्यवाद दिएका हुन ।

नेता खाँणले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी बजेट आएको बताए । ‘रोष्ट्रममा उभिएपछि अर्काका बारेमा विरोध गर्ने प्रचलन बनेको छ, तर वर्तमान प्रधानमन्त्री, अर्थमन्त्रीले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी उत्कृष्ट बजेट ल्याउनुभएको छ, यसका लागि म अर्थमन्त्री ज्यूलाई यही मञ्चबाट धन्यवाद दिन्छु ।’ 

रुपन्देही क्षेत्र न. २ बुटवल क्षेत्रबाट निर्वाचित भएका अर्थमन्त्रीलाई उनकै नगरमा पूर्वगृहमन्त्रीले प्रशंसा गर्दा सहभागीहरूले ताली बजाएर समर्थन गरे ।

‘इतिहासमै सुवर्ण शमशेरपछिको क्रान्तिकारी बजेट हो’ खाँणले भने । उनले बजेटले मुलुकको विद्यमान आर्थिक चुनौतीलाई सुधार गर्ने बताए । ‘बजेट यथार्थमा आधारित रहेको छ ’ उनले भने ।

उनले यसअघि नेपालमा आउने पर्यटकहरूले २५ हजार रुपैयाँ ल्याउन पाउने अवस्था रहेको भन्दै अहिले सरकारले ल्याएको बजेटले त्यसलाई ५ सय डलर पुर्याएको बताए । यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा दिने बताए । उनले बजेटले विदेशी लगानी भित्र्याउन, लगानीका लागि निजी क्षेत्रलाई उत्साही बनाउने काम गरेको बताए ।

पूर्व गृहमन्त्री खाँणले भारतीय पर्यटकलाई नेपाल प्रहरीले अनेक सास्ती, झन्झट र चेकिङले गरेको भन्दै यसले पर्यटन प्रवर्द्धन नहुने बताए । उनले यसलाई तत्काल सुधारका लागि प्रदेशका मन्त्री, प्रहरी प्रशासनको समेत ध्याआर्कषण गराए । उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारहरूले बजेट ल्याउँदा केन्द्रीय नीतिलाई हेर्न समेत ध्यानाकर्षण गराए । खाँणले लामो समयपछि आफू बोल्न पाएको भन्दै सबैलाई सम्झिए ।

नेकपा माओवादी केन्द्रका नेतालाई समेत सम्झिएका उनले काँग्रेस एमालेको गठबन्धन जनताले बनाएको समेत भन्न भ्याए । ‘चुनावको बेला हामी माओवादी सहितको गठबन्धनमा थियौँ, तर बुटवलमा काँग्रेस र एमालेलाई जिताए’ खाँणले भने –‘अहिले केन्द्र प्रदेशदेखि नै काँग्रेस एमाले गठबन्धन बनेको छ।’ 

खाँण रुपन्देही क्षेत्र न. ३ मा २०७९ को निर्वाचनमा दीपक बोहरासँग पराजित भएका थिए । बोहराको निधनसँगै उपनिर्वाचनको तयारी भएकाले पनि खाँणले सबैको मन जित्ने गरी भाषण गरेको कतिपय सहभागीहरूले प्रतिक्रिया दिए । 

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री धनेचन्द्र कार्कीले बुटवल उपमहानगरपालिकाले सीमाका पालिकाहरूसँग छलफल गरेर दिगो विकासको नीति लिएको बताए । उनले प्रदेश सरकारले समेत सहकार्यको अभ्यास गरेको बताउँदै बुटवल उपमहानगरको थालनी सकारात्मक रहेको बताए ।

यस्तै उनले लुम्बिनी प्रदेशमा भारतीय पर्यटकहरूलाई प्रहरी प्रशासनबाट भएको चेकिङ सम्बन्धी गुनासोलाई तत्काल समाधान गर्न प्रशासनको ध्यानाकर्षण गराए । 

अन्तरक्रिया कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले आफूहरूले छिमेकी पालिकाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने नीति लिएको भन्दै सङ्घ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरे । उनले राजस्व बाँडफाँड, जग्गाको सदुपयोग, वन र नदीजन्य पदार्थको निकासीमा आफूहरूको असन्तुष्टि रहेको बताए। 

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, संविधानविद् काशीराम दाहाल लगायतले बोल्दै स्थानीय सरकारले जनताको भावनालाई आत्मसाथ गर्दै नीति अगाडि सार्नुपर्ने बताए । 

 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update