
बुटवल- राष्ट्रिय जनमोर्चाको भातृ संगठन जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु भएको छ। शुक्रवारदेखि सुरु भएको भेला नयाँ नेतृत्व चयन गर्दै शनिवार सकिने छ ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भेला उद्घाटन गरेका हुन् । भेला उद्घाटनपछि बोल्दै महासचिव भट्टले जातीय समाजमा जातीय छुवाछुत कायमै रहेको बताए । उनले व्यवस्था परिवर्तन भएर गणतन्त्र आएपनि जातीय विभेदको अन्त्य हुनु नसक्नु विडम्बना भएको उल्लेख गर्दै संविधानले जातीय छुवाछुतको अन्त्य भने पनि व्यवहारमा छुवाछुत कायमै रहेको बताए ।
मान्छेले मान्छेमाथि गर्ने शोषण दमन र जातीय छुवाछुतको अन्त्य नहुंदासम्म जातीय समता स्थापना भएको पुष्टि हुन नसक्ने बताए।महासचिव भट्टले दलित समुदाय अहिले पनि शिक्षा र स्वास्थ्यबाट वञ्चित रहेको बताउँदै उनले भने– दलित समुदायलाई संविधानले न्याय दिन सकिने ।
गणतन्त्र सिद्ध्याउन राजावादीहरू लागि परे पनि गणतन्त्र नमासिने बताउँदै उनै राजावादीलाई हटाएर ल्याएको गणतन्त्र हट्न नसक्ने र यसलाई जनगणतन्त्रको रूपमा विकास गर्नुको विकल्प नभएको बताए । राजाको घिन लाग्दो शासन व्यवस्था भोगेर वाक्क भएपछि र जनताको बलमा राजतन्त्रको फ्याँकिएको बताउँदै उनले भने – आफ्नै वंश नास गर्नेहरूले देश चलाउन सक्दैनन् र राजा फर्कने कुनै सम्भावना छैन ।
गणतन्त्रको नाम भजाएर शासन सत्तामा बसेकाहरूको गलत क्रियाकलापका कारण राजावादीहरू सक्रिय भएको बताउँदै सत्ता सञ्चालकहरू कि सुध्रिन्छन् कि सकिने बताए ।साम्राज्यवादी शक्तिले धर्मको नामबाट र एनजिओ आईएनजिओहरुले डलरको लोभ देखाएर समाज भाँड्ने काम गरेको महासचिव मनोज भट्टले बताए ।
वामपन्थी नेता तथा कम्युनिस्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्यले समाजमा रहेका हरेक प्रकारका विभेद र जातीय छुवाछुतको अन्त्य हुनुको विकल्प नरहेको बताउँदै छुवाछुतको अन्त्यका लागि पहिला आफैबाट सुधार हुनुपर्नेमा जोड दिए । सङ्घीय प्रणाली अन्तरगतको प्रदेश संरचनाले मुलुकको अवस्था कमजोर भइसकेको बताउँदै नेपालको हकमा संघीयता आवश्यक नभएकाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम, नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल बुद्धिजीवी संघका दुर्गानाथ खरेल, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, जातीय समतासमाजा पूर्व अध्यक्ष दिलबहादुर विक, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसी, अखिल नेपाल युवक संघका उपाध्यक्ष चोपबहादुर विक, अखिल नेपाल किसान संघका उपाध्यक्ष केवी घले, रक्तिम सांस्कृतिक अभियानका मानबहादुर नेपाली, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य बिनोद बोहोरा, राष्ट्रिय उद्योग ब्यपार संघका पूर्व अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल प्रगतिशील कानुन व्यवसायी संघका हेमराज शर्मा, मूल प्रवाह अखिल भारन नेपाली एकता समाजका चन्द्रबहादुर थापा, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य हरि राहाडी,अखिल छैठौंका सचिवालय सदस्य कुलचन्द्र शर्मा, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य सम्झना पौडेललगायतले आआपल्ना भनाइ राखेका थिए ।
जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्माको अध्यक्षता, जातीय समता समाजका नेता खगेश्वर सुनारको स्वागत र भक्त विश्वकर्माको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको छ । उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
३७ जिल्लाको प्रतिनिधित्व रहेको उक्त राष्ट्रिय भेलाले नयाँ नेतृत्व चयन गर्दै बुटवल घोषणा पत्र जारी गरी भेला सम्पन्न हुने जातीय समता समाजका नेताहरुले जानकारी गराएका छन् ।