Lumbini Rise
बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु

बुटवल – बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम आइतबारदेखि सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सुरु भएको तालिमको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धनको क्षेत्रमा काम गरिरहेको बताए । उनले सञ्चार क्षेत्रले नगरको सकारात्मक कार्यको प्रचार र कमजोरीको निरन्तर खबरदारी गर्न आग्रह गरे । उनले आफूहरू निर्वाचित भएपछि सञ्चार क्षेत्रसँग निरन्तर सहयात्रा गर्दै आइरहेको बताए ।  पछिल्लो समय सम्चारकर्मीहरू सामाजिक सञ्जाल केन्द्रित भएको उल्लेख गर्दै उनले समाचारमा केन्द्रित हुन सुझाव दिए । नगरपालिकाले सबै जात, जाति, भाषा र धार्मिक समुदायको हितलाई केन्द्रमा राखेर काम गरेको प्रमुख पाण्डेको भनाइ छ ।

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलको विकासमा पत्रकारहरूको सकारात्मक साथ र सहयोग रहेको बताइन । उनले नगरपालिकाले समावेशिताको सवालमा विभिन्न कामहरू गर्दै आइरहेको बताउँदै काम गर्ने क्रममा कुनै पक्ष छुटेको भए आगामी दिनमा सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरूले राज्यका निकायहरूको निगरानी र खबरदारी गर्ने पेसागत दायित्व भुल्न नहुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य सरु राना, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे,अग्रज पत्रकार मदनलाल पौडेल र सञ्चारीका समूह रुपन्देही अध्यक्ष मिना ढकालले बोल्दै पत्रकारहरू हरेक दिन अपडेट हुनु पर्ने भएका कारण क्षमता अभिवृद्धि जस्ता तालिमहरू आवश्यक रहेको बताए ।

कार्यक्रम सेन्टर रुपन्देहीका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षता, उपाध्यक्ष माया केसीको स्वागत तथा सचिव सोनु घिमिरेको सञ्चालनमा भएको हो । तालिमको पहिलो दिनको पत्रकार विनोद परियारले मिडियामा दलितहरूको सवालका विषयमा सहजीकरण गरेका थिए ।  

जेठ २५ गतेदेखि सुरु भएको तालिम २७ गतेसम्म सञ्चालन हुने उपाध्यक्ष टंक सुनारले बताए । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update