
काठमाडौँ – सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाइएको भन्दै सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन् । आज देशभरका सुन चाँदी पसद बन्द गरेर ब्यवशायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घमा आवद्ध व्यवशायीहरुले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति बनाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।
सरकारले आगामी बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको हुँदा विरोधमा उत्रिनु परेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बताए । सरकारले लगाएका भ्याटका कारण सुनचाँदी व्यवसाय नै सङ्कटमा पर्न सक्ने भन्दै सरकारसंग यो खारेजको माग गरेको उनले बताए ।
यसैबीचमा बुधबार सुन चाँदी ब्यवशायीहरुले बुधबार अर्थमन्त्री बिष्णु पौडेल, नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेलाई भेटेर भ्याट खारेजीको माग गर्दै ज्ञापनपत्र समेत बुभाएको नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका केन्द्रिय अध्यक्ष अर्जुन बिश्वकर्माले जानकारी दिए ।
सरकारले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माणकोसमेत माग गरेका छन् । आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत सुन, हिरा, जुवाहरत र पत्थरमा लगाइएको कर खारेज गर्न माग गर्दै आइतबारदेखि ब्यवशायीहरुले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका थिए ।
उनीहरूले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायीमैत्री ऐन जारी गर्न पनि माग गरेका छन् । यता रुपन्देहीका सुनचाँदी व्यवसायीहरु पनि आन्दोलनमा उत्रेका छन् । बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले केन्द्रीय कार्यक्रम अनुसार बुटवलमा पनि आन्दोलन भइरहेको बताए ।