
दाङ– लुम्बिनी प्रदेशमा आज मगर समुदायले मनाउने भूम्या पर्व मनाइँदै छ । रोल्पा, दाङ, रुकुम पूर्व र प्युठानमा यो भूम्या पूजा पर्व मनाउने गरिएको छ । यो पर्वको अवसरमा चार जिल्लामा असार १ गते आइतबार (आज) सम्बन्धित समुदायका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
यसैबिच मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नु गरेका छन् ।
मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र पहिचान संरक्षणमा योगदान पुर्याउने उल्लेख गरिएको छ । ‘हाम्रा मौलिक संस्कार, परम्परा, रीतिरिवाज र चाडपर्वहरू सामाजिक र सांस्कृतिक समृद्धिको बलियो आधार हुन् । भूमे पर्व आदिवासी जनजाति समुदायको सांस्कृतिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको पर्व हो, जसले भूमि, प्रकृति र पूर्वजप्रतिको सम्मान प्रकट गर्छ ।’
प्रदेश सरकार यस्ता मौलिक पर्वहरूको संरक्षण गर्दै समावेशी विकासमा जोड दिन प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले यो पर्वले समुदायबिच एकता, सहकार्य र प्रकृति संरक्षणप्रतिको चेतना बढाउने विश्वास व्यक्त गरे । उनले भूमे पर्व प्रदेशको मौलिकता झल्काउने अमूल्य धरोहरका रूपमा अझ मजबुत रूपमा स्थापित होस् भन्ने कामना पनि गरेका छन् ।