-1750508956.jpg)
वुटवल–नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनाल बलदेवले माओवादी आन्दोलनलाई सही दिशा दिन बुद्धिजीवीहरूले कलम चलाउनु पर्ने बताएका छन् ।
नेपाल बुद्धिजीवी सङ्गठन रुपन्देहीको सातौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता खनालले जनयुद्धको बारेमा समाजमा फैलिएको भ्रम चिर्न बुद्धिजीवी वर्गलाई अग्रसर हुन आग्रह गरे । माओवादीहरूले मान्छे मारे भनेर रूपान्तरणकारी जनयुद्धलाई बदनाम गर्न खोजिएको उल्लेख गर्दै उनले संसारको कुन चाही युद्धमा मान्छे मारेको छैन भन्दै प्रश्न गरे ।
प्राप्त उपलब्धिको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न बुद्धिजीवीहरूले बहस चलाउनु पर्ने बताउँदै नेता खनालले समाजलाई दिशा निर्देश गर्ने प्रमुख दायित्व बुद्धिजीवी वर्गको भएको उल्लेख गरे ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बौद्धिक वर्गले समाज र युगलाई प्रभावित पार्न सक्ने बताए । बुद्धिजिवीहरुको तर्कले समाजलाई नयाँ दिशा दिन सक्ने उल्लेख गर्दै नेता बरालले अध्ययनको दायरालाई थप फराकिलो बनाउन आग्रह गरे । नेता बरालले नयाँ नयाँ विषयमा बहस र छलफलको परम्परा हट्दै गइरहेको र सामाजिक सञ्जालको आधारमा धारणा निर्माण गर्ने परम्परा विकास भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामु परियारले देशको नेतृत्व गर्न सक्ने पार्टी माओवादी मात्रै भएको बताए । वर्तमान सरकार इतिहासमै सबै भन्दा अलोकप्रिय भएको बताउँदै उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारी संरक्षण गरेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सचिव इन्द्र विश्वकर्मा‚लुम्बिनी प्रदेश उपाध्यक्ष लोक शर्मा र संगठनका पूर्व जिल्ला अध्यक्ष यज्ञमूर्ती पाण्डेले जनयुद्धको ऐतिहासिक पक्ष र गणतन्त्रको पक्षमा बौद्धिक बर्गले बहस गर्नु पर्ने बताए ।
सम्मेलनबाट मेघराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा प्रदीप कुमार पाण्डे ‚हिमा थापा र नेत्रलाल पाण्डे रहेका छन् । सङ्गठनको सचिवमा कौशल राज गौतम‚ सह-सचिवमा डा.चन्द्र बहादुर थापा र लोकराज घिमिरे चयन भएको सङ्गठनले जानकारी दिएको छ ।