
बुटवल– लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ । जनमत पार्टीबाट समानुपातिक प्रदेशसभा सदस्य रायमाझीलाई जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो। अदालतले जेठ १६ गते नै पक्राउ पुर्जी जारी गरेको हो । तर, सांसद रायमाझी भने फरार छिन्।
पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ । सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो।
आशा कुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङसम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह गरिएको छ।
रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् । रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेश सभा सदस्य रायमाझीले गत भदौ सात गते दुई लाख ७५ हजार रुपियाँ साट्ने गरी त्यति नै बराबरको चेक काटेर अनितालाई दिएकी थिइन् । सुमनविरुद्ध साढे पाँच लाखमध्ये आधा चेक अनादर र आधा बैंकिङ कसुरसम्बन्धी मुद्दा उनले दायर गरेकी हुन् ।
आशा र सुमन दुवै जना जनमत पार्टीका हुन् । पर्सामा आयोजना भएको कार्यक्रममा आएको वेला आशा र सुमनबिच घनिष्ठ बनेका थिए । उनले पार्टीकै सदस्य भएकाले जनमत पार्टीमा पटक–पटक कुरा रखेपनि चासो नदिएपछि मुद्दामा जानुपरेको आशाकमुारीको भनाई छ।