Lumbini Rise
रुपन्देहीका सांसद वासुदेव घिमिरेकाे प्रश्न : हामीसँग याेजना मागेर किन राखिएन ?

बुटवल - रूपन्देही निर्वाचन क्षेत्र न. ५ बाट निर्वाचित नेकपा एमालेका सांसद वासुदेव घिमिरेले बजेटका बारेमा संसदमा असन्तुष्टि पोखेका छन् । उनले आगामी आर्थिक वर्षका लागि गरिएको मन्त्रालयगत विनियोजनले निराशा ल्याएको बताउँदै आपत्ति जनाएका छन् । उनले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना विनियोजन गरेको भन्दै आपत्ती जनाए ।

उनले सभामुख मार्फत बिनियोजन विधेयकका हेरेपछि पिडाबोध भएको बताए । उनले बजेट निर्माणपूर्व योजना मागेर सांसदहरूलाई भ्रममा पारिएको पनि बताए । प्रत्येक सांसदबाट ७ वटा योजना माग गरे‍र सहरी विकास मन्त्रालयले पाँच वटामा मात्रै बजेट राखेको भन्दै उनले असन्तुष्टि जनाए । मन्त्रीका योजना राख्न मिल्ने तर सांसदका योजनामा भने तीन करोडको सिलिङका नाममा रोक लगाइएको उनले बताए ।

 ‘बजेट पार्न मन्त्री नै हुनुपर्ने हो ? अघिल्लो वर्ष दुई दर्जन मन्त्री हुनुभयो, अहिले थप दुई दर्जन हुनुभएको छ, त्यै परिपाटी दोहोरिएको छ । अर्को पटक अर्का दुई दर्जन थपिने होलान्, त्यै त्यै हुने होला । अर्कोले पनि त्यस्तै हुने होला । यस्तै सिकाउँदै जाने परिपाटी तपाईंहरूले बसाल्नुभएको छ, यो थिति बदलौं,ु घिमिरेले भने, ुबजेट खन्याएर निर्वाचन जितिने रहेनछ भन्ने कुरा विगतका घटनाले देखाएको छ । बजेट खन्याउँदैमा धेरै भोट आउँछ भन्ने मन्त्रीहरूले आसा नगर्नुहोला ।’ 

सांसद घिमिरेले बजेट निर्माण प्रक्रियामा सांसदहरूलाई जोड्नुपर्ने विधिको आवश्यकता रहेको पनि बताए । सरकारले ल्याएको बजेटमा ताली बजाउने र पास गर्ने देखावटी भूमिकामा मात्रै सांसदलाई सीमित राखेको भन्दै उनले असन्तुष्टि जनाए ।

‘संसद्‌मा लामो छलफल हुन्छ तर सरकारले ल्याएको बजेट हुबहु पास हुने थिति बसेको छ’ उनले भने–‘मलाई मात्रै पीडा रहेनछ । प्रतिपक्षको धर्म नै हो विरोध गर्ने भन्थ्यौं तर जति बोल्नुभयो सत्तापक्षकै सांसदले, नेता खालका सांसद, पदाधिकारी हुनुहुन्छ, उहाँबाहेक अरुहरूले विनियोजनप्रति चित्त नबुझाएको, असन्तुष्टि रहेको पाएका छौं । थिति बसालौं । उनले बजेट संशोधन गर्ने व्यवस्था गर्नुपर्ने पनि सांसद घिमिरेको भनाइ थियो । 

बजेटमाथि अघिल्लो सरकारको भन्दा अहिलेको सरकारको आलोचना बढी भएको बताउँदै उनले त्यसमा ख्याल राख्न सुझाए ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update