
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिका बारे जानकारी गराएपछि रास्वपा सांसदहरुले असहमति जनाउँदै संसद बैठक बहिष्कार गरेका हुन् ।
बैठकमा बोल्दै रास्वपा सांसद डा स्वर्णिम वाग्लेले आफ्नै मान्छेलाई चोख्याउन सरकारले आफ्नै मान्छे राखेर छानविन समिति बनाएको आरोप लगाए । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिएको अवस्थामा गृहमन्त्रीको प्रस्तावमा नै छानविन समिति बनाउने कुरा उचित नभएको बताए ।
त्यस्तै उनले अहिले समितिको नेतृत्व गर्ने भनिएका पूर्वमुख्यसचिव शंकरदास बैरागी सत्ताको स्वार्थको केन्द्रमा रहेको व्यक्ति भएको समेत आरोप लगाए । रास्वपाले संसदीय छानबिन समिति वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्ने अडान राखेको छ ।