
बुटवल– प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रुपन्देही–३ मा एमालेबाट नेता खिमलाल भट्टराई उम्मेदवार हुने चर्चाले राजनीति तरंगित भएको छ ।
मंगलबार रातोपाटी अनलाईनमा आगामी कात्तिक महिनामा हुने उपनिर्वाचनमा प्रतिनिधिसभामा एमालेबाट भट्टराई उम्मेद्वार भन्ने समाचार सार्वजनिक भएसँगै एमालेबृतमा चर्चा शुरु भएको हो । बिशेष गरी रुपन्देहीका एमाले नेताहरुले यसबिषयलाई बिशेष महत्वका साथ हेरेका छन्।
पूर्वराष्ट्रिय सभा सदस्य समेत रहेका भट्टराई नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् । ०७९ को निर्वाचनमा भट्टराई रुपन्देही क्षेत्र नम्बर–५ बाट उम्मेदवार बन्ने योजना अनुसार राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा गरेपनि त्यसबेला दोहोरो उम्मेदवारी परेपछि उक्त स्थानमा वासुदेव घिमिरेको उम्मेदवारीलाई आयोगले मान्यता दिएको थियो ।
असार ६ गते निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त दुईस्थानसहित १८ स्थानीय तहका रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो । निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन आगामी कात्तिक दोस्रो देखि तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको थियो ।
प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ को २ मा रिक्त स्थानको पदपूर्ति गर्न आयोगले उपनिर्वाचनको तयारी गरेको हो । सरकारको परामर्शमा आगामी असार २० गतेभित्र निर्वाचन आयोगले मिति तोक्ने तयारी गरेको छ ।
२०७९ मा भएको निर्वाचनमा रुपन्देही ३ बाट निर्वाचित राप्रपाका नेता दीपक बोहराको निधन भएपछि यहाँ उपनिर्वाचन हुने भएको हो । २०७९ मा बहालवाला गृहमन्त्री समेत रहेका बेला कांग्रेस नेता बालकृष्ण खाँण पराजित भएका हुन । उपनिर्वाचनको चर्चासँगै रुपन्देही ३ मा आकाक्षीहरुले लविङ बढाएका छन् ।
एमालेबाट भट्टराईकै उम्मेद्वारी टुंगिएको हो की होइन भन्ने कुरा काँहीबाटै पुष्टि भएको छैन । नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरैले आफूले पनि अनलाईनमा समाचार पढेको बताउँदै पार्टीले आधारिक रुपमा निर्णय गर्ने तहमा पुगिनसकेको बताए ।
उनले भट्टराई उपनिर्वाचन हुँदा सशसक्त दावेदार रहेको बताए । उनले क्षेत्रिय कमिटि, जिल्ला कमिटि प्रदेश हुँदै केन्द्रमा आफूहरुले उम्मेद्वार सिफारिश गर्ने भएपछि मात्रै आधारिक भन्ने अवस्था आउने बताए।
‘नेताहरुले उम्मेद्वार हुनका लागि इच्छा राख्ने कुरा स्वभाविक हो’ उनले भने –‘पार्टी तहले निर्णय गर्ने बेला भइसकेको छैन ।’
समाचार सार्वजनिक भएसँगै भट्टराईलाई फोन सम्पर्क गरेपनि फोन उठेन । तर भट्टराइले साेमबार मात्रै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसँग भेट गरेकाे फाेटाे सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
उनले फेसबुकमा लेखेका छन् -'सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीज्युसँगकाे महत्त्वपूर्ण भेट।' याे भेटपछि नै समाचार सार्वजनिक भएकाले भट्टराइ नै आधाकारिक उम्मेद्वार भएकाे एमालेकै नेताहरुले बताएका छन् ।
एमालेबाट उपनिर्वाचन हुँदा भट्टराईसँगै एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने(एमएस), केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल तथा सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारीले पनि चर्चा हुने गरेको छ ।