
बुटवल - युद्धग्रस्त देश इरानमा रोजगारीका लागि गएका बुटवलका दुई नेपाली युवा बुधबार घर आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारको अनुरोधमा इरानको मसादबाट भारत सरकारले उद्धार गरेर नेपाल फर्काइएको हो ।
बुटवल उपमहानगरपालिका–१२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुधबार बुटवल घर आइपुगेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उनीहरु दुवै सकुशल आइपुगेको जानकारी दिए ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफूहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुशल आइपुगेको भन्दै युवाहरुले खुशी व्यक्त गरेका छन् । दश वर्षदेखि रोजगारीको सिलसिलामा इरान रहेको र आउने–जाने गर्दै आएको सुमनले सुनाए । इरानमा युद्ध भए पनि आफूहरूलाई खासै अप्ठ्यारो भने नपरेको उनको भनाइ छ ।
उनीहरू दुवैजनासँग बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भेटेका छन्। भेटका क्रममा उनीहरूले नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफुहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुसल आईपुगेको बताए। नगर प्रमुख पाण्डेयले स्थानीय सरकारका रूपमा हुनसक्ने सहयोग र भूमिका निर्वाह गर्ने संघ सरकारसँग आवश्यक पहल गर्ने बताए।