
काठमाडौं – दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाविरुद्ध अवहेलना मुद्दामा विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतको पूर्ण इजलासमा सम्पादकद्वयसँग बयान लिने कार्य भइरहेको छ ।
दृष्टि मिडियाविरुद्ध विशेष अदालतका कर्मचारीहरुले प्रतिवेदन तयार गरी तीन दिनभित्र जवाफ दिन आदेश दिएपछि आज बयान सञ्चार क्षेत्र तरंगित छ । समाचार लेखेकै आधारमा विशेष अदालतले पूर्ण इजलास राखेर तीन दिनभित्र जवाफ दिन आदेश दिएपछि श्रेष्ठ र सुब्बा आज अदालतमा उपस्थित भएका हुन् ।
विशेषका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई, राम बहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा बयान भइरहेको छ ।
विशेष अदालत ऐन र नियमावलीमा मुद्दा मामिलामा तीन सदस्यीयभन्दा बढी संख्याको इजलास राख्न नपाउने कानुनी व्यवस्था छ । तर विशेष अदालतको इतिहासमै यो कानुनी व्यवस्थाविपरीत पूर्ण इजलास राखी सम्पादकद्वय श्रेष्ठ र सुब्बालाई बयानका लागि बोलाइएको थियो ।