
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी कार्तिक २७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उत्कृष्ट उम्मेदवार छनोटका लागि आन्तरिक कसरत सुरु गरेको छ । छनोट विधिमै परिमार्जन गरेर रास्वपाले उपनिर्वाचनमा उम्मेदवार चयन गर्न लागेको हो ।
विहिबार बसेको सचिवायले बैठकमा उम्मेदवार छनोटका लागि पेस भएको कार्यविधिमा व्यापक छलफल भएको थियो । बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको छ ।
रास्वपाले रुपन्देही ३ का जनता र पार्टी शुभेच्छुकहरू समेतको चाहनाअनुसार छनोट विधि मार्फत योग्य, सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पार्टीका सहमहामन्त्री तथा लुम्बिनी इन्चार्ज विपिन आचार्यले पार्टीले अंगिकार गर्दै आएको प्राइमरी इलेक्सनको व्यवस्थालाई अझै प्रभावकारी बनाउने गरी कार्यविधि आउने बताए ।
उनले अहिलेसम्म सम्भावित उम्मेदवारको विषयमा कुनै पनि गृहकार्य नभएको बताए । यस्तै बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको लागि सहजीकरणको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने पार्टीको अडानलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । जसअनुसार संसदमा भइरहेको प्रतिरोध कायम राख्ने वैठकको निर्णय छ ।