
बुटवल – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा काम धमाधम भइरहेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम आधाभन्दा बढि सकिएको छ । हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले बताईन् ।
आयोजनाको वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत रहेको ज्ञवालीले बताईन । उनका अनुसार बुधबार मात्रै सुरुङ्गमार्गकाे वारपार ढलान अर्थात ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । इन्भर्ट पछपि बल्ल पिच गरिनेछ ।
मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्ट (वारपार ढलान) को निर्माण कार्य सकिएको हो । इन्भर्टकाे काम सकिएको छ, अब लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौँ' सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर ज्ञवालीले भनिन -'हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको छ ।’ लाइनिङ्ग भनेको साइडकाे भागहरु हुन् ।
बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । सुरुङमार्ग पाँच वर्ष अर्थात् २०८३ मा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु भएको थियो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । यस खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन सञ्चालन हुने गर्छन् ।
पाल्पा–सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि सरकारले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ६० करोड विनियोजन गरेको छ ।