Lumbini Rise
सांसद निमा गिरीद्वारा बाल सुधारका ५ सय बालबालिकालाई पुस्तक वितरण

बुटवल -  लुम्बिनी प्रदेशसभा  सदस्य निमा गिरीको पहलमा लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा कानुनी विवादमा परेका ५ सय बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ।

रुपन्देहीको बाल सुधार गृहमा आयोजित कार्यक्रममा बाल सुधार गृह रुपन्देहीका १०४ जना, जयन्दु बाल सुधार गृह बाँकेका १९६ जना, र नौबस्ता बाल सुधार गृहका १६८ जना बालबालिकाहरूलाई पुस्तक वितरण तथा सकारात्मक सोच तालिम दिइएको हो ।

कार्यक्रममा  प्रमुख अतिथि  गिरिले बालबालिकालाई सकारात्मक सोच र जीवन परिवर्तनको आधारभूत सूत्रहरूबारे प्रशिक्षण दिएकी थिइन।'तपाईँ आफ्नो जीवनको खराब समय चलेको बेला कानुनी विवादमा पर्नु भयो सधैँ तपाईँको जीवनमा खराब समय चल्दैन' सांसद गिरीले भनिन – 'यहाँको बसाइँलाई जीवन उपयोगी समयमा बदल्नुस्, आफ्नो मुद्दा  हेरेको वकिल कुन हो? मुद्दा कहाँ पुगेको छ त्यसको विषयमा चासो राख्नुस्।'

सांसद गिरीको पहलमा लुम्बिनीमा हालसम्म तीन वटा बाल सुधार गृहमा बाल पुस्तकालय स्थापना भइसकेको छ। पुस्तकालय स्थापना र तालिममार्फत सुधार गृहमा रहेका बालबालिकाको मनोबल अभिवृद्धि गर्ने सांसद गिरीको भनाइ छ ।

रुपन्देही बाल सुधार गृहमा आयोजित कार्यक्रममा निमित्त कार्यालय प्रमुख बोधराज आचार्यको अध्यक्षता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका भूप बहादुर मल्लले राखेका थिए भने  विशिष्ट  अतिथिका रूपमा रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटा उपस्थित थिए। कार्यक्रमको सञ्चालन गंगाधर पाण्डेले गरेका थिए।

कार्यक्रममा सहभागी बालबालिकाले पुस्तक पढ्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए। सकारात्मक सोचको तालिमले आफूहरूमा जीवनप्रति नयाँ आशा जागेको उनीहरूको भनाइ थियो।

लुम्बिनी प्रदेशले आउँदो बजेटमा  सुधार गृह तथा कारागारमा रहेका व्यक्तिहरूलाई मागमा आधारित तालिम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको र आगामी दिनमा अझ धेरै सुधार गृह र बाल आश्रमहरूमा सिपयुक्त कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन।

 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update