Lumbini Rise
आयोजनाको नाममा बुटवल सतगढीमा अवैध उत्खनन, डोजर र टिप्पर नियन्त्रणमा 

बुटवल– बुटवल १२ सतगढीमा बस्तीलाई नै जोखिममा पारेर अवैद्य रुपमा नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको छ । बुटवल, गोरुसिङ्गे सडक खण्ड बिस्तार गर्नका लागि भन्दै निर्माण व्यवसायीले शनिबार बेलुका ४ बजेदेखि बुटवल १२ सतगढीमा पुल निर्माण स्थलभन्दा करिव २ सय मिटर उत्तरतर्फ खोलामा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको हो ।

खोलाको दुवै साईडमा बस्ती रहेको र असार सकिनेबेला डोजर ल्याएर धमाधम नदीजन्य पदार्थ निकालेपछि स्थानीयहरुले विरोध गरेपछि घटना बाहिरिएको हो । स्थानीय टोल विकास संस्थाका व्यक्तिहरुले प्रहरीलाई खबर गरेपछि डोजर र टिप्परलाई नयाँ प्रहरी चौकीमा राखिएको छ ।

प्रहरीले खोलाबाट एक वटा डोजर र बा प्र ०६–०० १ क ०३१४ नम्बरको टिप्पर नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले स्थानीयहरुले गुनासो गरेपछि प्रहरी पुगेर स्काभेटर, टिप्पर नियन्त्रणमा लिएको बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

सतगढी र गणेशटोलको मध्यभागमा रहेको खोलाबाट खुलेयाम विना जानकारी नदीजन्यपदार्थ टिप्परका टिप्पर लगेपछि आफूहरुले रोक लगाएको गाणेश टोल विकास संस्थाका अध्यक्ष बेतकुमारी वाग्ले (सिता) ले बताइन ।

उनले शनिबार १५ टिप्पर र आईतबार विहान पनि ५/७ टिप्पर गरी २० टिप्परभन्दा बढि नदीजन्य पदार्थ खोलाबाट निकालेको बताईन । उनले आफूहरुले रोक लगाउँदा पुल निर्माणका लागि निकालिएको भनेर भनेको तर, आयोजनाका व्यक्ति भन्ने भागेको बताईन । 

दुवैतर्फ बस्ती रहेको ठाउँमा असारका बेलामा डोजर आएर धाधम उत्खनन गरेकाले यो बदमासी मानेर आफूहरुले प्रहरीलाई खबर गरेको स्थानीय बुद्धिजिवि मीनबहादुर पुनले बताए । उनले बस्तीलाई नै खतरामा पार्ने गरी जेसिबि चलाएपछि आफूहरुले रोक लगाएको बताए ।

‘बस्ती नै जोखिममा पार्नेगरी असारमा उत्खनन भएकाले रोक्यौं, निर्माण कम्पनीका म्यानेजर भानु जोशी आउनुभएको थियो, मिल्छ भन्नुभयो, कागजपत्र वा केही प्रमाण छ भनेपछि निस्कनुभयो’ उनले भने । उनले आयोजनाको नाममा अवैद्य उत्खनन गरेर बस्तीमा बाढीको जोखिम गराउन नपाउने भन्दै कारवाहीको माग गरेका छन् ।

IMG_9730-1751786256.JPG


आशीष निर्माण सेवा नेपाल जेभीले खोलाबाट नदीजन्यपदार्थ उत्खनन गरेर डम्पिङ गर्ने गरेका छन् । पुलको फिलिङ गर्ने भनेर भनेपनि त्यहाँबाट निकालिएको नदीजन्यपदार्थ करिव ३ सय मिटर पूर्वमा रहेको साईडमा डम्पिङ गर्ने गरिएको छ ।  

आयोजनाका नाममा २ सय मिटर परसम्म गएर उत्खनन गर्ननपाउने भन्दै घटनाका बारेमा निर्माण कम्पनीसँग जानकारीमाग गर्ने बुटवल चन्द्रौटा सडक विस्तार आयोजन कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् । बुटवल गोरुसिंगे सडक विस्तारका क्रममा अहिले  निर्माण कम्पनी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप र आशीष निर्माण सेवा नेपाल जेभीले पुल निर्माण गरिरहेको छ ।

सतगढी पुल न. २ को कामका लागि भन्दै नदीजन्य पदार्थ निकालेको निर्माणपक्षले बताएको छ । गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड १९ किलोमिटरका लागि अहिले पुल निर्माण भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update