Lumbini Rise
पाल्पा सिद्धबाबा पहिरोमा परि रामपुरका दम्पती घाईते, प्रहरीले तुरुन्तै उद्धार गर्दा थप क्षती भएन 
सिद्धबाबा क्षेत्रमा गएकाे पुरानाे पहिराे तस्विर

बुटवल– सिदार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मंगलबार माथिबाट खसेको पहिरोमा परि मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । तिनाउ गाउँपालिका ३ सिद्धबाबा पहिरो क्षेत्रमा बुटवलबाट पाल्पा रामपुर जादै गरेको लु५१ प ६६३३ नंको मोटरसाईकलमा सवार श्रीमान श्रीमती घाईते भएका हुन् ।

पाल्पा रामपुर नगरपालिका ६ तालपोखरा निवासी ३६ बर्षिय जनक भण्डारी र उनकी श्रीमती २९ बर्षिय कल्पना चापागाईँ घाईते भएको पाल्पा प्रहरीले जनाएको छ ।

पहिरोले गुड्दै गरेको मोटरसाईकललाई बगाएर सडकबाट तल बगाएको थियो । मोटरसाईकल चालक भण्डारी सडकबाट उछिटिएर सडक तल र कल्पना सडक छेउमा अडकिएको अवस्थामा दोभान प्रहरी चौकीले उद्धार गरेको हो ।

साँझ साँढे ६ बजेतिर घटना भएको भएपनि आधा घन्टाभित्रै दोभान प्रहरीका प्रहरी नायव निरीक्षक रुमबहादुर केसी नेतृत्वको टोलीले उद्धार गरेको हो । प्रहरीले तुरुन्तै उद्धार गरेकाले थप क्षती हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन् ।  

मोटरसाईकल चालक भण्डारीको टाउकोमा चोट लागेको छ। दुई जनाको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update