
बुटवल– रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बुधबारदेखि सम्पर्कविहीन भएपछि गाउँपालिकाले सू्चना नै निकालेको थियो । उनीहरु विहिबार विहान गुल्मीबाट सम्पर्कमा आएका छन् ।
गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट हिँडेको थियो । तर, बुधबार बेलुकासम्म पटकपटक सम्पर्क गर्दा पनि फोन स्वीच अफ भएपछि कर्मचारी हराएको सूचना निकाल्न गाउँपालिका बाध्य भएको थियो ।
सबैतिर हल्लाखल्ला भएपछि बिहीबार बिहान हराएका कर्मचारी टोली सम्पर्कमा आएको थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले बताए । आर्थिक वर्षको अन्तिममा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको थियो ।
‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सवइन्जिनियर, प्रशासन शाखा प्रमुख, खापासटे र सवारी चालक सहित ७ जना असार २४ गते बिहान ७ बजेदेखि असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको’ भन्दै पालिकाले सूचनामा निकालेको थियो ।
अध्यक्ष बुढाका अनुसार प्रमुख प्रशासकीय अधिकृतले २३ गते बेलुका कार्यलयबाट घर निस्कनेबेला आफूले केही समस्या छ भनेर सोध्दा बाहिर गएर काम गर्नुपर्ने भयो भनेर अनुमति मागेका थिए ।