
काठमाडौँ -क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
आइतबार अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ुडाइरेक्ट रिलिफु को सहयोग तथा वान हार्ट वर्ल्डवाइडु को समन्वयमा उक्त औषधि आइतबार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।
ती औषधि तथा स्वास्थ्य सामाग्रीहरू असार २७ गते नेपाल आइपुगेका थिए भने त्यसयता स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा भण्डारण गरेर राखिएको थियो ।
आइतबार भने औपचारिक रूपमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । आजै ती औषधी र स्वास्थ्य सामाग्रीहरू क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौँलाई हस्तान्तरण गरिएको छ ।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइनेछ ।
मन्त्रालयले सम्बन्धित निकायहरूसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामाग्रीहरू भविष्यमा पनि निरन्तर रूपमा उपलब्ध गराउने गरी पहल गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ ।