
बुटवल–रूपन्देही ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि दलहरु उम्मेद्वार छनौटका लागि आन्तरीक तयारीमा व्यस्त छन्। तर, स्वतन्त्र उम्मेद्वारको तयारीमा रहेका बालेन टिमका सन्तोष गिरी भने निर्वाचन क्षेत्रका गाउँ घुमिरहेका छन् ।
गिरीले यहाँका जनताको मनोभावनासँगै जनताको अपेक्षाबारे विभिन्न व्यक्तिहरुसँग जानकारी लिने काम गरेका छन् । निर्वाचन आयोगले कार्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र न. ३ मा उपनिर्वाचनको मिति तय भएसँगै चुनावी सरगर्मी सुरु भएको हो ।
तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीका स्थायी बासिन्दा ३३ वर्षीय गिरी केहिदिनदेखि निर्वाचन क्षेत्र लक्षित गरी बुद्धिजिवि, राजनीतिज्ञ, किसान एव्म सर्वसाधरणलाई भेटघाट गरिरहेका छन् । हाल काठमाडौं महानगरका मेयर बालेन शाह (बालेन्द्र) को सल्लाहकार टिममा रहेका उनले स्वतन्त्र उम्मेद्वार हुने तयारीका साथ उपनिर्वाचन केन्द्रीत गरी भेटघाटमा व्यस्त भएका हुन ।
आफ्नो जन्मस्थान पनि रुपन्देही क्षेत्र नं. ३ मै पर्ने भएकाले स्थानीयको भावना र आवश्यकतालाई अझ नजिकबाट बुझ्न भेटघाटमा व्यस्त भएको उनी बताउँछन् । उनले निर्वाचनलाई केवल चुनावदेखि चुनावसम्मका लागि मात्रै हुन नहुने बताउँदै आम नागरिकको अपेक्षा र आवश्यकता अनुसार काम गर्नुपर्ने मत राख्छन् । यहि कुरालाई मध्यनजर गरी गिरी ‘ग्राउन्ड रियालीटीे’ बुझ्न मतदाताका घरदैलौमै पुगेका छन् ।
गिरीले बुटवल, भैरहवा क्षेत्रका विभिन्न राजनीतिक, सामाजिक व्यक्तित्व, उद्योगी व्यवसायीसँग भेट गरेका हुन । यस्तै निर्वाचन क्षेत्र अन्तर्गत मायादेवी, शुद्धोधन र सियारीका गाउँहरु पुगेर किसान, स्थानीय नागरिक एव्म सामाजिक अगुवाहरुसँग भेटघाट गरेका छन् । उनले वडातहसम्मै पुगेर भेटघाट र जनअपेक्षा बुझेका छन् ।
विद्यार्थी जीवनमा नेकपा एमाले निकटको अखिल राजनीतिबाट उदाएका गिरीले रूपन्देहीका जनताले परिवर्तन रोज्ने विश्वास गरेका छन् । काँग्रेस, एमाले लगायतका दलका नेताहरुले नै साथ दिने प्रतिबद्धता जनाउँदा गिरी उत्साही देखिएका छन् । बालेन शाहको सचिवालयमा सल्लाहकारको भूमिकामा रहेका उनले स्थानीय शासन, नीति निर्माण, र नवप्रवर्तनमा प्रत्यक्ष अनुभव सगालेका छन् ।
गिरीको उम्मेदवारीलाई नयाँ पुस्ताको सहभागिता र वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधित्वको रूपमा हेरिएको छ । पछिल्लो समय युवा पुस्तामा बालेनको क्रेज देखिएको छ । गिरी शुरुदेखि नै राजनीतिक पृष्ठभूमिबाट आएकाले उनले उम्मेद्वारी तयारीकै क्रममा जनताको भावना बुझ्न भेटघाटमा लागेको उनी निकटहरु बताउँछन् ।
बालेन समर्थकहरुले रास्वपाको समेत साथ खोजेका छन् । यद्यपि गिरीले उम्मेद्वारीको तयारी गरेसँगै रास्वपाका केन्द्रीय नेताहरुसँग संवाद भइरहेको बताईन्छ । गिरीले आफ्नो गृहजिल्ला समेत भएकाले अबको निर्वाचनबाट नयाँ पुस्ताको इन्ट्री हुनुपर्ने मत राख्दै आएका छन् । कुनैबेला गिरी राष्ट्रिय वादविवाद प्रतियोगितामा प्रथम स्थान हासिलगरेपछि देशैभर चर्चित भएका थिए । त्यस पश्चात उनले ८ वर्षसम्म देशव्यापी युवा शसक्तिकरणको अभियान समेत चलाएका थिए ।
संसद र सांसद कस्तो हुने भन्ने विषयमा राष्ट्रिय युवा संसदमा बोलेका उनले त्यसमार्फत पुनः चर्चा बटुले र उनी विभिन्न अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्दै वक्ताका रुपमा प्रस्तुत भएका थिए। अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका गिरी नेपाल स्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत हुन्।
राप्रपाका बरिष्ठ नेता दीपक बोहोराको निधन भएसँगै रुपन्देही ३ मा उपनिर्वाचन हुन लागेको हो । २०७९ को निर्वाचनमा बोहोराले नेपाली काँग्रेसका नेता तथा तत्तकालिन वहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।