
प्युठान - प्युठानका महिलाले 'रातो अबिर अभियान' सुरुवात गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरूका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरु गरेका हुन्।
श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै एकल महिलाहरूले रातो अबिर अभियान चलाएका हुन् ।
रातो रङ श्रीमानको उपहार नभएर प्रकृतिको उपहार भएकोले एकल हुँदा रातो रङ प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कु-संस्कार तोड्न महिलाहरू जुर्मुराएका छन्। कस्तो रङ पहिरन गर्ने भन्ने महिलाहरूलाई स्वतन्त्रता हुनुपर्ने कार्यक्रमका सहभागीहरूले बताए ।
एकल महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले आइतबार र सोमबार प्यूठानको जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरूले आफ्ना दुःख, कठिनाइ र समाजबाट भएका हेपाइका फेहरिस्त सुनाएका थिए । सवारीसाधनमा चढ्दा समेत साइत बिग्रिने भन्दै चालकले नचढाएको दुखेसो उनीहरूले पोखे ।
वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान् गुमाएर एकल जीवन बिताइरहेकी नौ बहिनी गाउँपालिकाकी एक महिलाले गहभरि आँसु पार्दै कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद निमा गिरीको अगाडि दुःख पोखिन् ।
समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनीतिक दलहरूले पनि महिलाहरूको संवैधानिक हक कुण्ठित गरिरहेकोले `रातो अबिर' अभियानसँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरूले उद्घोष गरेका छन् ।
एकल महिलाको उक्त अभियान अब प्युठानका ६४ वडा र सिङ्गो लुम्बिनी प्रदेशभरि पुर्याउनुपर्ने लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले बताए।
लुम्बिनी प्रदेश सांसद निमा गिरीले प्रमुख जिल्ला अधिकारीलाई एकल महिलाका समस्यालाई प्रो-एक्टिभ भएर चासो दिन र हिंसा हुन नदिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरिन् ।
कार्यक्रममा सहभागीहरू २१ वर्षमै पति बितेकादेखि ६० वर्षसम्मका थिए। आफूजस्तै थुप्रै महिला भेट्न सबै खुसी भएका थिए।