Lumbini Rise
सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार : प्रचण्ड

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले जटिल मोडमा रहेको बताएका छन्।

बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै प्रचण्डले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका दृष्टिले मुलुक निकै जटिल अवस्थामा पुगेको उल्लेख गरे।

उनले अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार हुने गरेको आरोप लगाए। साथै, वर्तमान सरकार सुशासनको विपक्षमा उभिएको र देशलाई असफलतातर्फ लैजाने दिशामा अघि बढेको टिप्पणी गरे।

‘हामी सबैले जनतासँग राम्रो सम्बन्ध जोडेर श्रम र उत्पादनमा लाग्नुपर्छ,’ उनले भने, ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अघि बढ्नैपर्छ।’

प्रचण्डले युवालाई संगठित गरेरमात्रै परिवर्तन उल्ट्याउनेहरूलाई परास्त गर्न सकिने बताए। उनले खबरदारी गर्दागर्दै पनि यदि सरकारले भ्रष्टाचारमै लिप्त रहने र जनभावनाविपरीत जाने हो भने सडकबाटै प्रतिवाद गर्ने चेतावनीसमेत दिए।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update