
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा परिवर्तन गरेको छ । यसअघि पार्टीभित्रको प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छनोट हुँदै आएकोमा अहिले त्यसमा परिवर्तन गरिएको पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । अब रास्वपाबाट उम्मेदवार बन्नको लागि प्रारम्भिक निर्वाचन मात्र जितेर नपुग्ने भएको छ ।
उनका अनुसार पार्टीले उम्मेदवार छनोटका लागि नयाँ कार्यविधि तयार पारेको छ । उक्त कार्याविधिअनुसार ४ ओटा विषयलाई आधार मानेर उम्मेदवार छनोट गरिनेछ । जसमा नेतृत्वदायी क्षमता, राजनीतिक निकटता, समावेशिता र प्रारम्भिक निर्वाचनको नतिजा रहेका छन् ।
सहमहामन्त्री आचार्यका अनुसार लिडरसिप एकेडेमीको नतिजालाई २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटीमा २० प्रतिशत, समावेशितालाई ५ प्रतिशत र प्रारम्भिक निर्वाचनलाई ५० प्रतिशत भारअंक दिइएको छ । यो कार्यविधि रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनबाटै लागु गरिने रास्वपाले जनाएको छ ।