Lumbini Rise
लागुऔषधका घटना वृद्धि

घोराही- २०८१ असोज २२ गते घोराही उपमहानगरपालिका–१८, मसिनाबाट प्रहरीले अफिम र चरेससहित तीन जनालाई पक्राउ ग¥यो ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले मसिनास्थित बिनी पुनको डेरामा खानतलासी गर्दा ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम बरामद गरेको थियो । 

लागुऔषधसहित प्रहरीले कोठा भाडा लिएर बस्ने ४२ वर्षीय बिनी पुनसहित ३७ वर्षीय सुवीन्द्र पुन र ५१ वर्षीय चेतन बुढालाई पक्राउ गरेको थियो ।

लागुऔषधका प्रयोगकर्ता सुवीन्द्र र चेतनलाई पक्राउ गरेपछि उनीहरूको बयानका आधारमा प्रहरीले ठुलो मात्रामा अफिम र चरेस पक्राउ गरेको थियो । 

त्यसै गरी गएको पुस २४ गते घोराही–१३ स्थित सिर्जनशील टोलमा कुलबहादुर बस्नेतको घरमा कोठा भाडा लिई बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका–२ निवासी ३९ वर्षीय निमबहादुर आले, नौबहिनी गाउँपालिका–२ निवासी २१ वर्षीय देउकली बुढामगर र रोल्पाको त्रिवेणी गाउँपालिका–७ निवासी २९ वर्षीय प्रकाश घर्तीमगरलाई पक्राउ गरेको छ । 

लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा भान्साकोठामा प्लास्टिकको ड्रमभित्र प्लास्टिकका पोका बनाई लुकाएर राखेको अवस्थामा २४ किलो ७१० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको थियो ।

लागुऔषध कारोबारसम्बन्धी यी दुई घटना उदाहरण मात्र भए पनि पछिल्लो समय जिल्लामा लागुऔषध कारोबारसम्बन्धी घटना वृद्धि भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८०र८१ को तुलनामा २०८१र८२ मा दोब्बरले लागुऔषधसम्बन्धी घटना वृद्धि भएका छन् । 

आर्थिक वर्ष २०८१र८२ मा जिल्ला प्रहरी कार्यालय दाङमा लागुऔषध कारोबारसम्बन्धी १०६ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले उक्त घटनामा १५४ जना पुरुष र २० जना महिला गरी १७४ जना पक्राउ परेको बताए ।  

उहाँका अनुसार पक्राउ परेकामध्ये १०१ जना धरौटीमा छुटेका छन् भने ४३ जना कारागार चलान भएका छन् । पक्राउ परेका अभियुक्तका साथबाट प्रहरीले चरेस ९३ किलो ७० ग्राम ४३ मिलिग्राम, ब्राउन सुगर ९९ ग्राम ३३ मिलिग्राम, अफिम ११ किलो १८० ग्राम, गाँजा १९ किलो १९९ ग्राम, नाइट्राजेपाम ट्याब्लेट छ हजार आठ सय पाँच थान र मनोद्धिपक पदार्थ एम्पुल ११ थान बरामद गरेको थियो । 

अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा लागुऔषधसम्बन्धी ५२ वटा मुद्दा दर्ता हुँदा ९६ जना पक्राउ गरेका थिए । अभियुक्तको साथबाट प्रहरीले चरेस ११ किलो ८२० ग्राम, ब्राउनसुगर ४५ ग्राम ५० मिलिग्राम, अफिम तीन किलो, गाँजा छ किलो ७२५ ग्राम, नाइट्राजेपाम ट्याब्लेट ४७७ थान र मनोद्धिपक पदार्थ एम्पुल ५४ थान नियन्त्रणमा लिएको थियो ।

प्रहरी नायब उपरीक्षक शाहले दुई वर्षको तथ्याङ्क अनुसार जिल्लामा पछिल्लो समय लागुऔषधसम्बन्धी घटना वृद्धि भएको देखाउने गरेको बताए। 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update