
काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठकले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। शुक्रबार र शनिबार बसेको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले संशोधन प्रस्ताव पारित गरेको जानकारी दिएका छन्। उनका अनुसार बैठकमा पार्टीभित्रको दुई सदस्यताको व्यवस्था र उमेरहदको प्रावधान हटाउने प्रस्तावलाई स्वीकार गरिएको छ।
गौतमले भने, ‘विधान संशोधन प्रस्ताव पोलिटब्युरो बैठकले स्वीकृत गरेको छ। केही सामान्य सुझाव समावेश गर्दै प्रस्ताव पारित भएको छ। यसमा मुख्य रूपमा दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था हटाउने निर्णय गरिएको छ।’
बैठकमा ६८ जना सदस्यले आफ्ना धारणा राखेको उनले जानकारी दिए।
विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’
बैठकले एमाले विधानको धारा ८ र ९ देखाउँदै विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेको छ। बैठकमा पार्टी सदस्यता नवीकरणको सन्दर्भमा विधानको धारा ८ र ९ आकर्षित हुने देखिएको र त्यसलाई पार्टीले गहन रूपमा छलफल गरी निर्णय लिने प्रचार विभाग प्रमुख गौतमले बताए।
‘विधानको धारामा गम्भीर रूपमा छलफल गर्दा यसले विधान धारा ८ आकर्षित गरिएको देखियो, धारा ८ मा पनि स्वेइच्छाले राजीनामा दिएर गइसकेको व्यक्ति। भनेको राष्ट्रपति पदका लागि पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पुन:नवीकरण गर्ने प्रक्रिया के छ भन्दा विधानको धारा ९ आकर्षित गरेको छ र यसमा अर्को कुनै ठोस निर्णय भएन भने नयाँ प्रक्रियाबाट पनि आउनु पर्ने ध्यानाकर्षण गरेको छ,’ उनले भने।