Lumbini Rise
दाउन्नेमा एक बर्षमा ६३ पटक सडक अबरुद्ध, जोखिम उस्तै 

नवलपरासी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा विभिन्न कारणले एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साल साउन १ देखि २०८२ असार ३२ गतेसम्म ६३ पटक सडक अवरुद्ध भएको हो ।

अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सडक अवरुद्ध भएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जनक बन्जाराले बताए ।

एक वर्षमा ६३ पटक यो सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको उनले बताए । सडक मर्मतका क्रममा ठुला मेसिनरी सामग्री जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि घण्टौँसम्म बाटो अवरुद्ध बनेको थियो । 

दाउन्ने क्षेत्रको पनि विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोडलगायत क्षेत्रमा दर्जनौँपटक सडक अवरुद्ध भएको पाइएको छ । बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको थियो । जम्मा १४ किलोमिटर दूरी रहेको दाउन्ने क्षेत्रमा गत आर्थिक वर्ष विगतको भन्दा धेरै पटक सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बन्जाराले बताए ।

 १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रो पटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म छ ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update