Lumbini Rise
रुपन्देही ३ मा राष्ट्रिय जनमोर्चाका उम्मेद्वार आलमलाई मसालको समर्थन 

रूपन्देही – रूपन्देही–३ उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट बद्रे आलमको उम्मेदवारीलाई नेकपा मसालले समर्थन गरेको छ। 

नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंहले  एक विज्ञप्ती जारी राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार समेत रहेका आलम निष्ठावान उम्मेद्वार भएको भन्दै सर्मथन रहेको जनाएका हुन्। 

उनले भनेका छन्– “का. बद्रे आलमको उम्मेदवारी व्यक्तिगत वा दलीय आवश्यकता मात्र नभई राष्ट्रिय महत्वको विषय हो। संसदमा इमान्दार, सही राजनीतिक चरित्र भएका व्यक्तिहरू नपुग्दा सम्पूर्ण व्यवस्था नै अस्तव्यस्त र भ्रष्ट भएको छ। त्यसैले उहाँको विजयले देशलाई सकारात्मक दिशा दिनेछ।”

सिंहका अनुसार बद्रे आलमको जीवन सदैव साधगी, सरलता र जनसेवामा बितेको र कहिल्यै कुनै प्रकारको भ्रष्टाचार, ठगी वा बेइमानीको आरोप लागेको छैन। “देशमा चुनाव पैसाको बलमा जित्नेहरूकै कारण जनताको विश्वासमा ठेस पुगेको छ,” उनले भने, “तर बद्रे आलमजस्ता इमान्दार उम्मेदवारको विजय राष्ट्रिय दृष्टिले नै महत्वपूर्ण छ।”

उनले राष्ट्रिय जनमोर्चाको इतिहास इमान्दार, स्वच्छ र निष्कलंक रहेको स्मरण गराउँदै भनेका छन्, “यस पार्टीका सांसद र मन्त्रीहरूले कहिल्यै आर्थिक अनियमितता गरेका छैनन्। त्यसैले बद्रे आलमले पनि कुनै अनाचार नगर्ने कुरा सुनिश्चित छ।”

नेकपा मसालले रूपन्देही–३ का मतदाताहरूलाई आगामी उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बद्रे आलमलाई भारी मतले विजयी गराउन आग्रह गरेको छ। रुपन्देही ३ मा २०७९ को निर्वाचनमा विजयी भएका राप्रपाका बरिष्ठ नेता दीपक बोहोराको निधन भएपछि रिक्त पदका लागि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो । 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update