
काभ्रेपलाञ्चोक– अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।
पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै रोकिएका छन् । सडक अवरुद्ध सँगै जुरेमा बिजुलीको पोल ढलेको छ ।
त्यस्तै महभीरमा सडक भास्सिएको प्रहरीले जनाएको छ । मोटरसाइकलहरू जोखिम मोलेर पार गरिरहेका छन् । पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरका स्थानीय प्रभावित भएका छन् ।
तातोपानी नाकाबाट सामग्री ल्याएका र लिन गएका कन्टेनर रोकिएका छन् ।