Lumbini Rise
रुपन्देही ३ को उपनिर्वाचन : उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन दरखास्त

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ को उपनिर्वाचनका लागि अनलाईन आवेदन माग गरेको छ । कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि साउन ७ गतेदेखि लागू आवेदन खुलाउने गरी आवेदन माग गरेको हो । 

 रास्वपाका सचिव भूमिनन्द बरालले सोमबार विज्ञप्तिमा जारी गर्दै ७ देखि २१ गतेसम्म  उम्मेदवार हुन इच्छुक व्यक्तिले तोकेको मापदण्ड अनुसार आवेदन दिन सक्ने जनाएको हो । 

साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त दिन सकिने रास्वपाको भनाइ छ। रास्वपाको एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सकिनेछ।

रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने र भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ।

यस्तै उपनिर्वाचन सम्बन्धी थप जानकारी आवश्यक भएमा पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरेको छ। निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन घोषणा गरेर त्यसको प्रकृया अघि बढाइसकेको छ ।

रास्वपा सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा रहेको र यो क्षेत्रमै उपनिर्वाचन हुने भएकाले नेताहरुको चहलपहल बढेको छ । सोमबार पनि नेता स्वर्णिम वाग्ले रुपन्देहीमा आएर विभिन्न कार्यक्रममा भाग लिएर फर्केको नेता मधु अर्यालले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update