
काठमाडौँ-नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीका नेतृत्वमा मौलाएको प्रवृत्तिले कम्युनिष्टको सत्तो हराएको बताएका छन्।
मङ्गलबार काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलनु विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले यस्तो बताएका छन्।
विस्तारै पार्टीमा नेतृत्वको वरिपरि गोलबद्ध हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने एउटा प्रवृत्तिको विकास भयो।
नेतृत्वमा पनि जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति मौलायो। त्यो प्रवृत्तिले कम्युनिष्टको सत्तो हराएको छ, उनले भने।
शर्माले कम्युनिष्ट पार्टीभित्र प्रश्न र आलोचनाहरूको आफ्नो महत्त्व रहेको बताए। तर, नेपालका कम्युनिष्ट पार्टीहरूमा प्रश्न र आलोचनाका लागि ठाउँ नरहेको उनले बताए।
कम्युनिष्ट पार्टीहरूभित्र आलोचना, प्रश्नहरूको भूमिका हुन्छ, महत्त्वपूर्ण हुन्छ। आलोचना महत्त्वपूर्ण शिक्षाहरू हुन्। कम्युनिष्ट पार्टीभित्र प्रश्नहरू सुन्न पनि तयार भइँदैन, उनले भने।