
काठमाडौँ - आगामि कार्तिक १७ गते हुने रुपन्देहीको क्षेत्र न. ३ को उपनिर्वाचनबारे नेपाली कांग्रेसका पूर्व उपसभापतीहरुले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीहरुले उपनिर्वाचनमा २०७९ को निर्वाचनमा उठेका बालकृष्ण खाँणलाई उम्मेदवार बनाउन सुझाएका छन् ।
मंगलबार देउवा निवास बुढानीलकण्ठ पुगेका पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतले २०७९ को निर्वाचनमा उम्मेदवार भएका बालकृष्ण खाँणलाई उम्मेदवार बनाउन सुझाएका हुन् । खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थिए ।
उक्त भेटमा सहभागी पूर्वउपसभापति श्रेष्ठले पुरानै उम्मेदवार उठाएर जसरी भए पनि जित्ने तरिकाले लाग्न सुझाइएको जानकारी दिए ।
‘पुरानै उम्मेदवार उठाएर हुन्छ कि के गरेर हुन्छ, कांग्रेसले नै रूपन्देही ३ मा विजय हासिल गर्ने गरी सभापतिजी अघि बढ्नुपर्छ भनेर कुरा राख्यौँ,’ पूर्वउपसभापति श्रेष्ठले भने ।’ जवाफमा सभापति देउवाले सल्लाह गर्दै जाऔँला भन्ने जवाफ दिएका जानकारी श्रेष्ठले दिए ।
०७९ मा भएको निर्वाचनमा खाण राप्रपा नेता दीपक बोहोरासँग यसै निर्वाचन क्षेत्रमा पराजित भएका थिए । बोहोराको निधनपछि रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचन हुन लागेको हो ।