Lumbini Rise
एमाले बैठकको निर्णय :  सक्रिय राजनीति गर्न विद्या भण्डारीलाई ‘ब्रेक’ 

काठमाडौँ - नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहानामा ‘ब्रेक’ लगाइदिएको छ । यति मात्रै होईन एमालेले भण्डारीको पार्टी सदस्यता समेत कायम नराख्ने निर्णय गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ । 

मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्दै प्रस्ताव प्रस्तुत गरेका थिए, जुन बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। यद्यपि, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले भने उक्त प्रस्तावप्रति असहमति जनाएका थिए। 

गौतमका अनुसार, ‘पूर्व राष्ट्रपति राष्ट्राध्यक्ष, संविधानको संरक्षक र राष्ट्रिय एकताको प्रतीक भएकाले उनी कुनै दलको झन्डा बोकेर हिँड्नु संविधानको मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको हो।’

यसैबिच, केन्द्रीय कमिटीको बैठकले अर्को महत्त्वपूर्ण निर्णय गर्दै भदौमा हुने विधान अधिवेशनमार्फत वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला गरेको छ। यसका लागि पार्टीले ७० वर्षको उमेर सीमा र दुई कार्यकालको प्रतिबन्ध हटाउने निर्णय लिएको हो, जसले विधान संशोधनको बाटो खोलेको छ।

बैठकमा बोल्ने अधिकांश नेताहरूले ‘मिसन २०८४’ का लागि केपी ओलीको नेतृत्व आवश्यक रहेको सुझाव दिएका थिए। गौतमले भने, ‘७० वर्षको उमेर हद र कार्यकालको सीमालाई हटाएर ओलीलाई रोक्न नचाहेको स्पष्ट पारेका छन्।’
यद्यपि उनले योग्य नेताहरूले अध्यक्षको प्रतिस्पर्धामा आउन सक्ने प्रस्ट पारे।

पूर्व राष्ट्रपतिको हकमा भने भविष्यमा प्रणालीमाथि उठ्न सक्ने प्रश्नलाई ध्यानमा राख्दै पार्टीको सक्रिय राजनीतिमा आउन नहुने निष्कर्षमा पुगेको गौतमले बताए । ‘राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झन्डा बोकेर हिँड्नु हुँदैन’, उनले भने ।

एमालेले यस्तो निर्णय गर्नुअघि भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्न नहुनेमा केही केन्द्रीय सदस्यहरू उभिएका थिए। तर उनीहरूको आवाज अल्पमतमा पर्‍यो केन्द्रीय कमिटी बैठकमा भण्डारीको पक्षमा उभिने केन्द्रीय सदस्यहरूमा उषाकिरण तिम्सिना,कैलाश ढुङ्गेल, इन्द्रलाल सापकोटा, रचना खड्का, अरबिन्द सिंह, युवराज बाँस्कोटा, रामलाल साह, बिनादेवी राई, शिव सुवेदी, कैलाश ढुङ्गेल, शिव सुवेदी, केदार न्यौपाने, पार्वती रावल लगायत रहेका थिए ।

२ दिन बसेको बैठकमा अढाई सय भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update