
बुटवल – रूपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबमधाममा शिव भगवानका वाहन नन्दी मूर्तिको प्राण प्रतिष्ठान गरिएको छ । बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विशेष पूजा गरी नन्दी भगवानको प्राण प्रतिष्ठान गरिएको हो ।
सात दिनसम्म सञ्चालन भएको धाममा विभिन्न धार्मिक अनुष्ठानहरूको समेत समापन गरिएको छ। पश्चिम नेपालकै निकै प्रसिद्ध पर्रोहा बोलबमधाममा साउनमा बिशेष उत्सव लाग्ने गर्छ ।
अर्थमन्त्री पौडेलले धामलाई व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।
स्थानीय गुरुजन, भक्तजन, राजनीतिक प्रतिनिधि तथा नगरवासीहरूसँगको छलफलपछि मुख्य मन्दिरको संरचना निर्माणका लागि गुरुयोजना तयार गरिएको हो। पहिलो चरणमा मूल मन्दिरको सौन्दर्यकरण तथा संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ भने आगामी चरणका कामका लागि बजेट व्यवस्थापन गरिने मन्त्री पौडेलले जानकारी दिए।
पर्रोहा बोलबमधामको मूल मन्दिर पशुपतिनाथको ढाँचामा, प्यागोडा शैलीमा निर्माण गरिएको हो। मन्दिर व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर कार्कीका अनुसार मन्दिर निर्माणमा संघीय सरकारबाट ५ करोड र सैनामैना नगरपालिकाबाट ३ करोड, गरी कुल ७ करोड रुपैयाँ खर्च भइसकेको छ । बाँकी संरचनाहरूको निर्माणका लागि थप ७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ र त्यसका लागि संघ, प्रदेश तथा स्थानीय सरकारसँग सहयोगको अपेक्षा गरिएको छ ।
कार्यक्रममा सैनामैनाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्मा, वरिष्ठ उपाध्यक्ष दुलबहादुर थारु, सञ्चारकर्मी कृष्ण भण्डारी लगायतले बोलेका थिए ।ले नगरपालिकाले पर्रोहा बोलबमधामलाई धार्मिक आस्थाको केन्द्रको रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए ।
गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्म एक महिनासम्म चल्ने श्रावणी मेला र बोलबम जलार्पण पर्व अहिले पनि धाममा जारी छ। भक्तजनहरू नवलपरासीको त्रिवेणी, रूपन्देहीको रामघाट, तनहुँको देवघाट, गुल्मीको रिडी, पाल्पाको राम्दी, काठमाडौँको सुन्दरीजल, पशुपतिनाथ, भारतको हरिद्वार, उत्तर प्रदेश, बिहार आदि स्थानहरूबाट गंगाजल ल्याएर शिवलिंगमा अर्पण गर्ने गर्छन्। विशेषतः सोमबार र शनिबार हजारौं श्रद्धालुहरूको भीड रहने गरेको छ।