Lumbini Rise
अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाहरुको स्थलगत अवलोकन

बुटवल- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् ।

अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् । उनले तिलोत्तमा–६ मा रहेको नौकट्टी सडकको अवलोकन गर्नुका साथै वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधीन अवस्थामा रहेको १५ शैयाको नगर अस्पतालको पनि अवलोकन गरेका छन् । आनन्दवन स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नती गर्न लागिएको हो ।

अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए । यो अस्पतालको शिलान्यास २०७७ सालमा अर्थमन्त्री पौडेलले नै गरेका थिए ।

त्यस क्रममा उनले अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा स्थानीय ०८४ अघि नै अस्पताल निर्माणको काम सम्पन्न गर्न अर्थमन्त्री समक्ष आग्रह गरे । अर्थमन्त्रीका साथमा सहभागी तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी र तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले यो अस्पताल सिंगो नगरको गौरवको विषय भएकाले यसलाई सकेसम्म छिटो पूरा गर्न ध्यानाकर्षण गराए ।

त्यसक्रममा अर्थमन्त्री पौडेलले अस्पताल निर्माण सम्पन्न गर्न सरकारले यथाशक्य सहयोग गर्ने भन्दै निर्माणको कामलाई गति दिन आग्रह गरे ।

त्यस्तै अर्थमन्त्री पौडेलले पश्चिम पहुनी मावि, मोक्षधामको समेत अवलोकन गर्नुका साथै वस्तुस्थितिबारे जानकारी लिएका थिए । त्यस्तै उनले कुन्जलापुरमा रहेका दुईवटा पुलको निरीक्षण गर्नुका साथै कुन्जलापुरदेखि नगर अस्पतालसम्म जाने ३ करोड लागतको सडक र  गोरकट्टादेखि गणेशपुर जाने ३ करोड लागतको कुलोको समेत  अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिएका थिए । अर्थमन्त्री पौडेलले कुन्जपार्कको पनि शुक्रबार अवलोकन गरेका छन् ।

शुक्रबार वडा नम्बर ३, ४ र ६ अन्तर्गत सञ्चालित नयाँ र चालु योजनाहरुको अवलोकन गर्ने तय भएपनि समय अभावका कारण वडा नम्बर ६ मा सञ्चालित योजनाहरुको मात्रै पौडेलले अवलोकन गरेका हुन् ।

 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update