
बुटवल – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल १२ स्थित नयाँ गाउँ माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।
बुटवल पश्च्मि क्षेत्रमा अब्बल शैक्षिक संस्थाको रुपमा विकास हुँदै गइरहेको नयाँगाउँ माविको अर्थमन्त्री पौडेलले शनिवार अनुगमन तथा निरीक्षण गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँगाउँ मावि शैक्षिक क्षेत्रमा आफ्नै पौरखले अघि बढेकाले अब कसैले पनि पछाडी पार्न नसक्ने बताए । विद्यालयको विकासको लागि आफुले पूर्वाधार नीतिगत रुपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले गुणस्तरी शिक्षामा विशेष ध्यान दिनका लागि विद्यालयलाई आग्रह गरे ।
यस्तै मन्त्री पौडेलले बुटवल तिनाउ पश्चिमको अबको भविष्य रहेको बताए । ‘तिनाउ पश्च्मिलाई विकास गर्न सकिन्छ, अहिले सडक निर्माणको काम चलिरहेको छ । यो सम्पन्न भएपछि नयाँगाउँदेखि तामनगरले विकास फड्को मार्छ,’ उनले भने ।
साथै उनले विकासका नाममा राजनीति गर्न नहुने बताए । रुपन्देही आएपछि आफुले म कुन पार्टीको हुँ भनेर समेत विसर्ने बताउँदै विकासका नाममा कहिले पनि राजनीति नगर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले नयाँगाउँ माविलाई शैक्षिक केन्द्रको रुपमा अघि बढाउने योजना रहेको बताए । साथै उनले विद्यालयको पूर्वाधार विकासका लागि सहयोग गर्न अर्थमन्त्री पौडेल समक्ष आग्रह समेत गरे।
विद्यालयका प्राध्यानाध्यापक पुरुषोत्तम भट्टराईले विद्यालयले गुणस्तरी शिक्षामा विशेष ध्यान दिने गरेकाले सोही अनुसारको परिणाम हासिल हुँदा खुशि लागेको बताए । राज्यले आवश्यक सहयोग गरेको अवस्थामा नयाँगाउँ माविलाई नमुना सामुदायिक विद्यालय बनाउन सक्ने क्षमतामा आफु रहेको दाबी गरे ।