Lumbini Rise
महेशपुर–परासी–सुनवल सडक  : पटकपटक म्याद थपिए पनि काम अलपत्र

 नवलपरासी- पश्चिम नवलपरासीको महेशपुर–परासी–सुनवल सडक स्तरोन्नति परियोजनामा भइरहेको चरम ढिलाइले स्थानीय बासिन्दालाई ठुलो सास्ती दिएको छ ।

ठेकेदारले पटकपटक  म्याद थप्दै जाँदा पनि कामले गति लिन नसकेको र यसबाट जनताले धुलो, हिलो तथा व्यापारिक क्षति भोग्नुपरेको गुनासो छ ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभागअन्तर्गतको सडक डिभिजन कार्यालय बुटवलले महेशपुर बजारदेखि हरपुर बजारसम्मको करिब २ किलोमिटर खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ रुपियाँ ९भ्याटसहित० मा ठेक्का लगाएको थियो ।

यो ठेक्का २०८० वैशाख २६ गते गौरीशंकर हिमालयन निर्माण प्रालिसँग भएको थियो, जसअनुसार २०८१ असोज २६ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो ।

स्थानीयका अनुसार, सुरुको म्याद सकिँदासम्म २० प्रतिशत पनि काम भएन । त्यसपछि २०८२ असार मसान्तसम्म पहिलो पटक म्याद थप गरियो, तर त्यतिबेला पनि ५० प्रतिशत काम नसकिएको स्थानीय जितेन्द्र गुप्ता बताए।

अहिले तेस्रो पटक २०८२ मङ्सिरसम्म म्याद थपिएको छ, तर यस अवधिमा पनि काम सम्पन्न हुनेमा स्थानीयले ठुलो शङ्का व्यक्त गरेका छन् । सडक स्तरोन्नतिको काम अहिले पनि सुस्त गतिमा भइरहेको छ ।

सडक निर्माणमा भइरहेको ढिलाइले स्थानीय व्यापार व्यवसाय पूर्णरूपमा प्रभावित भएको छ । धेरै पसलहरू विस्थापित भएका छन् भने सडक फराकिलो पार्ने भन्दै भत्काइएका घरहरूका कारण स्थानीयलाई आवतजावतमा समेत समस्या भएको छ ।

गुप्ताका अनुसार, ठेकेदार र सरकारी इन्जिनियरहरूले म्याद थपको बहानामा मूल्यवृद्धिको फाइदा लिई मिलेमतो गरेको आशङ्का छ । यसले गर्दा जनताले सास्ती भोगिरहेका छन् भने ठेकेदार र कर्मचारीलाई फाइदा पुगेको आरोप उहाँले लगाउनुभएको छ ।

निर्माण कार्यले गति नलिँदा सडकको अवस्था झनै बिग्रिएको छ । ठेकेदारले नाला निर्माण र केही ठाउँमा ग्राभेल हाले पनि खाल्डाखुल्डी जताततै छन् । ठेक्कामा परेकाले पहिलेझैँ नियमित सडक मर्मत पनि रोकिएको छ ।

सडक किनारमा निर्माण सामग्री अव्यवस्थित रूपमा थुपारिएका छन् भने कलभर्टका कारण पानी जम्ने समस्या पनि यथावत् छ ।

यसका साथै, चुनावी एजेन्डा बनेको भक्सिपुर पुलको अवस्था पनि दयनीय नै छ । सांसद फेरिए पनि पुलको अवस्था उस्तै रहेको भन्दै स्थानीयले निराशा व्यक्त गरेका छन् ।

सरकारले महेशपुर भन्सार नाकालाई मूल भन्सार बनाउने लक्ष्य लिए पनि बजेट अभाव र ठेकेदारको बदमासीले गर्दा यो महत्त्वाकाङ्क्षी परियोजनाको पहिलो खण्डमै अड्किएको छ ।

स्थानीयले सडक निर्माणमा तीव्रता ल्याउन सरोकारवाला निकायलाई अविलम्ब पहल गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update