
बुटवल- पाल्पाका साहित्यकार जयदेव गौतमद्वारा लिखित समीक्षात्मक पुस्तक ‘किताबको अँगालोमा’ को बुटवलमा परिचर्चा गरिएको छ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा भएको परिचर्चा कार्यक्रम भएको हो । गौतमको यो चौथो पुस्तकमा विविध विधाका कृतिको समीक्षा समावेश छ । २७५ पृष्ठको पुस्तकमा ४२ कृतिका सबल र दुर्बल पक्षका विषयमा समीक्षा गरिएको छ ।
प्राडा कपिल लामिछानेले साहित्यमा सिर्जना मात्र नभई समालोचना पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रस्तुत पुस्तकले समालोचनाको क्षेत्रमा राम्रो छाप छाडेको छ भने।
उनले, प्रस्तुतीकरण, तथ्यगत त्रुटि, समाजमा पर्ने प्रभावलगायतका विषय समावेश गरेर उत्कृष्ट कृति तयार भएको भन्दै प्रशंसा गरे।
सो अवसरमा साहित्यकार ऋषिराम भुसाल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख डा। टङ्क पन्थ, माया घिमिरे र रामचन्द्र श्रेष्ठले पुस्तकको समीक्षा गर्दै कृतिमा पाठकीय चेतनाको माध्यमबाट गरिएको समीक्षालाई पाठकसम्म पुग्ने गरी लेखिएको बताए।