Lumbini Rise
मन्त्री पाण्डेको विरोध गर्ने प्रशान्त गुप्तालाई पार्टीबाटै निष्कासन  

बुटवल :  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद चुलिएको छ । सत्तापक्षलाई विपक्षी मञ्चमा बसेर बजेटमाथिको छलफलमा सघाएबापत सांसद सन्तोष पाण्डेय मन्त्री भए लगतै विवाद चुलिएको हो । पाण्डेय मन्त्री नियुक्त भए लगतै लोसपा भित्र असन्तुष्टि देखिएको थियो । 

आइतबार मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका सन्तोष पाण्डेयको आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेका केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र)लाई पार्टीले नै निष्कासन गरेको छ । पार्टी अध्यक्ष महन्त ठाकुरले बुधवार विज्ञप्ति जारी गर्दै गुप्तालाई पार्टीको प्रतिष्ठामा आँच आउने र पदीय मर्यादा विपरीतका अभिव्यक्ति दिएको भन्दै निष्कासन गरिएको जनाएका छन् ।

उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । रुपन्देही निवासी गुप्ता गत निर्वाचनमा लोसपा बाट प्रदेश सभाको उम्मेदवार बनेका थिए ।

नेता गुप्ताले पार्टी र संसदीय दलप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । गुप्ताले यसअघि पटक पटक अवसर पाएकाले गुप्ताभन्दा दलका उपनेता तथा केन्द्रीय सदस्य कनैया बानियालाई मन्त्री बनाउनुपर्ने बताउँदै आएका थिए ।

संसदीय दलका नेता तथा पार्टीको प्रदेश अध्यक्ष पाण्डेले कुनै जानकारी नदिई आफै मन्त्री बनेको भन्दै बानियाले पनि आपत्ति जनाउँदै आएका छन् । प्रदेश सभामा एकै दिन सत्तापक्षबाट विपक्षमा गएर बजेट पास गरेको विषयमा आलोचित बनेका पाण्डेका विरुद्ध लोसपामा असन्तुष्ट समूहले विरोध गर्दै आइरहेको छ ।

दोहोरिएर प्रदेश सभामा आएका मन्त्री पाण्डे जसरी पनि सरकारमा जाने र अहिलेसम्म ४ पटक मन्त्री बनिसकेको भन्दै कार्यकर्ताले विरोध गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update