Lumbini Rise
भैरहवामा जथाभाबी फोहोर फाले ५० हजार जरिवाना

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको जथाभाबी फोहोर फाल्ने माथि कडा निगरानी गरिरहेको छ । सरसफाइ तथा फोहोर उठाउन नियमित रूपमा ट्याक्टरहरू घर घरमा पुर्याउदा समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकिए पछि नगरपालिकाले निगरानी बढाएको हो ।

नगरपालिकाले फोहोरको प्रकृति हेरेर जथाभाबी फोहोर फाल्नेलाई फोहोर मैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) अनुसार ५० हजारसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ ।

सोही बमोजिम पछिल्लो दुई महिनामा नगरपालिकाले जथाभाबी फोहोर फाल्ने पसल तथा व्यक्तिहरूको भिडियो र फोहोर सङ्कलन गरी १८ जनालाई कारबाही गरेको नगरपालिका फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख यादव सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले नगरपालिकाले पाँच हजार देखी १५ हजारसम्म जरिवाना तिराएको छ ।

पटक पटक सम्झाउँदा  अटेर गर्ने र लुकिछिपी नियमित रूपमा जथाभाबी फोहोर फाल्नेको पहिचान गरी कारबाही अगाडी बढाइएको छ । त्यसको लागी बढी फोहोर फालिने स्थानहरूको पहिचान गरी बिहान साँझ नगर प्रहरी परिचालन गरिएको प्रशासन महाशाखा प्रमुख देव ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार जथाभाबी फोहोर फाल्ने र सडक छेउछाउमा लगाइएको फुल टिप्ने, रुख बिरुवाहरूको हाँगा भाच्नेहरु माथि समेत निगरानी बढाइएको छ । सिद्धार्थनगर नगरपालिका नगर प्रमुख एवं संविधानसभा सदस्य इश्तियाक अहमद खाँले नगर सुन्दरीकरण गर्ने, हरियाली बनाउने कुरा एउटा मात्र निकायले गरेर सम्भव नहुने हुँदा सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले सिद्धार्थनगर गौतम बुद्धको प्रवेशद्वार समेत रहेकाले यस नगरलाई क्लिन, ग्रिन र वातावरण मैत्री बनाउने अभियानमा आफू लागेको र त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update