
नवलपुर- नारायणघाट–बुटवल सडक विस्तारका लागि सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिको म्याद चौथो पटक थप गरेको छ ।
यो सडक विस्तारको काम सम्पन्न गर्न थप एक वर्षको समय थप गरिएको हो । आयोजना निर्देशनालयको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वीखण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको म्याद आगामी २०८३ साउन ७ गते र पश्चिम खण्ड दाउन्नेदेखि बुटवलसम्मको म्याद २०८३ साउन ५ सम्म थपिएको हो ।
निर्माण कम्पनीले डेढ वर्षको समय मागेको भए पनि एक वर्ष थप्दा ९० प्रतिशत काम सक्ने सहमति गरेपछि म्याद थपिएको हो । आयोजनाको तेस्रो पटक थपिएको म्याद साउन ८ गते सकिएको थियोे ।
तर म्याद थपका लागि विभागबाट स्वीकृति लिनु पर्ने भएकाले प्रक्रिया पूरा गर्दा आज मात्र म्याद थपको पत्र थमाइएको इन्जिनियर खनालले बताए ।
तेस्रो पटक थपिएको म्याद सकिँदासम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत रहेको ठेकेदार कम्पनीका इन्जिनियर राकेश झाले बताए। निर्माण कम्पनीले एक सय १३ किलोमिटर सडक निर्माणको काम सजिलो होस भनेर दुई खण्डमा बाँडेर काम गरिरहेको छ ।
जसमध्ये असार मसान्तसम्म एकतर्फी एक सय किलोमिटर सडक कालोपत्रे भएको झाले बताए। उनका अनुसार दुवैतर्फ भने ८० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।
आयोजनाको सबैभन्दा कठिन मानिएको दाउन्नेमा सडक ढलानको काम धमाधम गरिरहेको जनाएको छ । गत दुई सातादेखि ठुलो पानी नपरेकाले राजमार्ग ढलानको कामले तीव्रता लिएको उनको भनाइ छ ।
अब पूर्वीखण्डमा ४ किलोमिटर र पश्चिमखण्डमा ३ किलोमिटर ढलान गर्ने तयारी गरिएको छ ।
अहिले पूर्वी खण्डमा ८ सय मिटर र पश्चिम खण्डमा १।३ किलोमिटर ढलान भइसकेको छ । ठाडो उकालो भएका कारण ढलान सडक टिकाउ हुने भएकाले यस क्षेत्रमा प्राथमिकताका साथ ढलान सडक निर्माण भइरहेको इन्जिनियर खनालले बताए । दाउन्ने खण्डमा पर्ने करिब १४ किलोमिटर सडकमध्ये पश्चिमतर्फ करिब ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
दाउन्नेमा आउँदो दसैँअघि नै राजमार्ग कालोपत्रे भइसक्ने गरी काम हुने आयोजना निर्देशनालयले जनाएको छ । नारायणघाटदेखि बुटबलसम्मको बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक विस्तार गर्ने गरी १७ अर्ब रुपियाँमा चिनियाँ ठेकेदार कम्पनीले ठेक्का लिएको हो ।