
बुटवल - अविरल बर्षाका कारण बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । सोमबार साँझदेखि ठाउँ ठाउँमा गएको पहिरो र ढुंगा झरेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
बुटवल–पाल्पा सडक अन्तर्गत तिनाउ–३ सिद्धबाबा नजिकै ढुंगा सहितको पहिरो गएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार माथिबाट ढुङ्गा सहितको पहिरो हटाउन समय लाग्ने भएकाले बाटो अवरुद्ध भएको हो।
लगातार बर्षा भइरहेकाले जोखिम महसुसगरेर गाडी सञ्चालनमा रोक लगाइएकाले क्षती हुन नपाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए ।
उनले गाडी सञ्चालनमा रोक लगाएपनि बर्षातले धेरै ठाउँमा पहिरो गएकाले सडक अबरुद्ध भएको बताए । धेरै ठाउँमा पहिरो गएकाले पहिरो पन्छाउने वितिकै सडक सुचारु हुने बताए ।
मंगलबार (आज) विहान सम्म बर्षाका कारण पहिरो हटाउन नसक्दा सडक अबरुद्ध भएको हो । पाल्पा दोभानका स्थानीय विष्णु प्रसाद पाण्डेयले दर्जनौं ठाउँमा पहिरो गएकाले सडक अबरुद्ध भएको बताएका छन् । उनले सडक सुचारु हुन अझै केही समय लाग्ने बताए ।
निरन्तरको वर्षाका कारण यस क्षेत्रमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ । वर्षाको समयमा पहिरो खस्नुका साथै ढुङ्गाहरु सडकमा खस्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन आग्रह गरिएको छ ।