Lumbini Rise
बाबुराम भट्टराईले रवि लामिछानेलाई भेटेपछि भने –‘पञ्चायतमा पनि यस्ताे हुँदैनथ्यो’


बुटवल– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका सभापती रवि लामिछानेलाई विहिबार भेट गरेका छन् । भैरहवा स्थित जिल्ला कारागारमा दिउँसो सभापती लामिछानेसँग भेट गरी संक्षिप्त कुराकानी समेत गरेका छन् ।

भेटपछि सञ्चारकर्मीसँग बोल्दै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका भट्टराईले रविमाथि प्रतिशोध साँधिएको बताए ।

डा.भट्टराईले जनताबाट चुनिएको सांसदलाई थुनामा राख्दा मतदाताको अपमान हुने बताए । उनले भाग्ने अवस्थामा मात्रै थुनामा राख्नुपर्नेमा लामिछानेमाथि थुनामा नराखेको भए हुने बताए । भट्टराईले लामिछानेलाई कारागारमा पत्रपत्रिका समेत उपलब्ध नगराएर सूचनाबाट बञ्चित गरेको बताए ।  

कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको डा.भट्टराईको भनाई छ । सूचनाबाट बञ्चित गरिएकाबारे आफूले माथिल्लो निकायमा कुरा गर्ने डा.भट्टराईले बताए । ‘कमसेकम सूचनाबाट बञ्चित गर्न चाहिँ हुँदैनथ्यो । पत्रपत्रिका ल्याएर दिँदा पनि रहेनछन् । हामी त पंचायतकालमा, पढ्ने गथ्र्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो’, उनले भने, ‘बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ, यहाँ त्यस्तो देखिएन ।’

डा.भट्टराईले रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको दावी सहित उनको न्यायका लागि भन्दै रास्वपाले रविको पक्षमा गरिरहेको हस्ताक्षर अभियानमा सहभागी भएर हस्ताक्षर समेत गरेका थिए । पूर्वप्रधानमन्त्री भट्टराई पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन रुपन्देही आउने क्रममा लामिछानेलाई भेटेका हुन् ।

बिहान १० बजेर २५ मिनेट जाँदा कारागार भित्र रविलाई भेट्न प्रवेश गरेका भट्टराई आधा घण्टा भन्दा लामो समय लामिछानेसँग कुराकानी गरेर ११ बजे मात्रै बाहिरिएका थिए । उनले भेटमा रविको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उनले बताए । 

 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update