
बुटवल- कारागार कार्यालय रुपन्देहीले रवि लामिछानेलाई थुनुवाका रूपमा पाउने अधिकारबाट वञ्चित नगरिएको प्रष्टोक्ति दिएको छ। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने अहिले कारागार कार्यालय रुपन्देहीमा छन्।
यसअघि केही सञ्चारमाध्यमहरूले लामिछानेलाई बन्द कोठामा राखिएको, सञ्चार सुविधासमेत नदिएको लगायतका समाचार लेखेका थिए। उक्त समाचारका प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुक्रबार कारागार प्रशासक सुरेश भण्डारीले विज्ञप्ति जारी गर्दै ती समाचारमा सत्यता नभएको प्रष्टोक्ति दिएका हुन्।
विज्ञप्तिमा बरु लामिछानेलाई समय-समयमा भेटेर आवश्यकताबारे सोध्ने र समाधानको गर्ने गरेको उल्लेख छ। 'कारागार प्रशासनले समय-समयमा उहाँलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गर्ने गरेको छ,' विज्ञप्तिमा लेखिएको छ।
प्रशासक भण्डारीले लामिछानेलाई छुट्टै कोठामा राखिएको पनि बताएका छन्। 'उहाँको सुरक्षालाई ध्यानमा राखी कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ।अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। उहाँले चाहेको खण्डमा मात्र बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको छ,' उनले भनेका छन्।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने गत चैतयता कारागार कार्यालय रुपन्देहीमा छन्।
पूरा अंश