Lumbini Rise
लुम्बिनीमा जनमतले  निलमलाई प्रदेशसभा सदस्य सदस्य बनाउँदै


बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि सो ठाउँमा जनमत पार्टीले अर्को समानुपातिक सदस्य चयन गर्ने भएकाे छ । 

गुरुङको ठाउँमा निलम पासवानको नाम निर्वाचन आयोगमा सिफारिस गर्न लागेको जनमत पार्टी स्रोतले जनाएको छ । 

गुरुङ आदिवासी जनजाति (महिला) कोटाबाट समानुपातिक सदस्य भएकी थिइन् । उनको नाम बन्द सूचीको दोस्रो नम्बरमा थियो । उनले राजीनामा दिइसकेपछि आदिवासी जनजाति कोटामा पुरुषतर्फ राजनकुमार श्रेष्ठ प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार छन् ।

 सूची अनुसार उनको नाम पठाउनुपर्ने हुन्। तर जनमत पार्टी लुम्बिनी प्रदेश समितिका सदस्य समेत रहेका श्रेष्ठ पार्टीको सम्पर्कमा नआएका कारण निलम पासवानको नाम पठाउन लागिएको सो पार्टीका एक पदाधिकारीले बताए ।

निलम पासवानको दलित कोटाको बन्दसूची क्रमसंख्या ४ नम्बरमा नाम छ । जनमत पार्टीले आदिवासी जनजातिको कोटामा दलित कोटाको नाम पठाउन लागेको हो । 

सो प्रदेशमा समानुपातिक सूचीको आदिवासी जनजाति कोटामा दुई जनाको नाम रहेको छ । त्यसमध्ये गुरुङले राजीनामा दिइसकेकी छन् भने श्रेष्ठ सम्पर्कमा नै छैन । दलित कोटा पनि एक पुरुष र एक महिला गरी दुई जनाको नाममा छ । 


निलम मधेस प्रदेश सिरहाकी हुन् तर उनी लुम्बिनी प्रदेशमा बसाइ सराइ गरिसकेको पार्टीले दाबी गरेको छ । पार्टीका अध्यक्ष डा.सिके राउत मुलुक बाहिर छन् । उनी स्वदेश फर्केपछि अर्को हप्तातिर निर्वाचन आयोगमा निलमको नाम सिफारिस गर्ने बताइएको छ । 

गीता गुरुङले आफ्नो व्यस्तताको कारण देखाउँदै प्रदेश सभा सदस्यबाट वैशाख ३० गते राजीनामा दिएकी थिइन् । 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update