
बुटवल - आगामी कार्तिक १७ गते रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेदवारसँगको छलफल अघि बढाएको छ । आइतबार (रास्वपा) ले उम्मेदवार बन्न चाहने ९ जना व्यक्तिसँग छलफल गरेको छ ।
सोमबार उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ । आवेदन दिएका व्यक्तिहरुको नामावली रास्वपाले साउन २३ गते सार्वजनिक गरेको थियो ।
साउन ७ देखि २१ गतेसम्म पार्टीले खुलाएको आवेदनमा उनीहरूले २५ हजार दस्तुर तिरेर केन्द्रीय निर्वाचन आयोगमा आवेदन दिएका थिए ।
आवेदन दिएका व्यक्तिहरूमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, डा.लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका छन् ।