Lumbini Rise
रुपन्देही ३ को उपनिर्वाचनमा प्रा.डा तेजकार्कीको किरण बिकलाई समर्थन

रुपन्देही — आउँदो कार्तिक १७ गते हुने प्रतिनिधि सभा रुपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण बिकलाई शहरी विकास योजनाकार तथा नीति–निर्माता प्राध्यापक डा. तेज कार्कीले सार्वजनिक रूपमा समर्थन गरेका छन्।

उम्मेदवार बिकको मुख्य एजेन्डा रुपन्देहीको भैरहवालाई व्यवस्थित सहरीकरण गर्ने रहेको उल्लेख गर्दै कार्कीले भने, “किरणले चुनाव जितेपछि यो मुद्दा संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्, त्यसैले म उनको उम्मेदवारीको समर्थन गर्छु।”

प्रा.डा. कार्कीले अमेरिकाबाट पीएचडी गरेका छन् र चीनमा पाँच वर्ष विकाससम्बन्धी अध्यापन गरेका थिए। उनी काठमाडौं विकास प्राधिकरणका पूर्व आयुक्त समेत हुन् र हाल काठमाडौं विश्वविद्यालयमा प्लानिङ स्टुडियोमा अध्यापन गरिरहेका छन्।

कार्कीले स्मरण गरे, “काठमाडौँ विश्वविद्यालयमा मास्टर्स इन अर्बन स्टडीजका विद्यार्थी किरणले मेरो अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित ‘योजनाकारले परिवर्तन ल्याउन राजनीतिक नेतृत्वमा जानु पर्छ’ भन्ने लेख चासोपूर्वक पढे र कक्षामा प्रश्न सोधे। आज यही युवाले रुपन्देहीको सहरी विकासको एजेन्डा लिएर उम्मेदवारी दिएका छन्।”

उनका अनुसार, सशस्त्र द्वन्द्वकालमा माओवादी पक्षबाट आफ्ना पितालाई गुमाउने दुःखद पीडाबीच पनि किरणले संघर्ष र प्रतिबद्धता देखाएका छन्। कार्कीले थपे, “किरण कुन पार्टी वा कुन वर्गबाट उम्मेदवार बने भन्नेभन्दा पनि, म उनीलाई युवा विद्यार्थीका रूपमा परिवर्तनका लागि अघि बढेको देख्छु। यो समर्थन निर्वाचनअघि मात्र होइन, निर्वाचित भएपश्चात् पनि रहनेछ।”

फिल्म मेकिङमा ब्याचलर, एलएलबी र सहरी विकासयोजनामा मास्टर्स गरेका बिकले रुपन्देही ३ को उपनिर्वाचनमा युवा नेतृत्वको विकल्पका रूपमा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update